उत्तर कोरियाद्वारा अर्को क्षेप्यास्त्र परीक्षण



सोल, (एजेन्सी)
उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले यसअघि उत्तर कोरियाले परीक्षण गरेका तीनवटा क्षेप्यास्त्रको तुलनामा यो पछिल्लो क्षेप्यास्त्र मध्यम दूरीको रहेको जनाएको छ।

एक साताअघि मात्र उत्तर कोरियाले थुप्रो मात्रामा आणविक हतियार बोक्न सक्ने नयाँ किसिमको रकेट परीक्षण गरेको दाबी गरेको थियो। गत सोमबार मात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङलाई यस्तो थप परीक्षण नगर्न चेतावनी दिएको थियो।

साथै सुरक्षा परिषद्ले तत्कालै आणविक निःशस्त्रीकरणका लागि उत्तर कोरियाले ठोस कदम चाल्नुपर्ने जनाएको थियो। दक्षिण कोरियाको विदेश मन्त्रालयले यो प्रक्षेपण गैरजिम्मेवारीपूर्ण भएको दाबी गरेको छ।

यो पछिल्लो क्षेप्यास्त्र जापानको सागरतर्फ करिब ५ सय ६० किमिसम्म उडेको दक्षिण कोरियाको सैनिक सूत्रले जनाएको छ। गत साताको क्षेप्यास्त्र भने करिब ७ सय किमिसम्म उडेको बताइएको थियो।

जापानी सञ्चारमाध्यमहरूले यस क्षेप्यास्त्र सम्भवतः जापानी जलीय क्षेत्रभन्दा बाहिर नै खसेको दाबी गरेका छन्। जापानको मन्त्रिमण्डलका प्रमुख सचिव योसिहिदे सुगाले यस मामिलालाई लिएर उत्तर कोरियासमक्ष औपचारिक विरोध गरिने पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्