नीति तथा कार्यक्रम ११ गते



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले आर्थिक वर्ष २०७४–७५ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। मन्त्रिपरिषद्को बैठकले पारित गरेको नीति तथा कार्यक्रम आइतबार बेलुकी नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको छ।

नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा राष्ट्रपति निवास जानुभएको थियो। ‘उहाँहरूले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपतिलाई जेठ ११ गते बिहीबारका लागि समय लिनुभएको छ’ –राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो। नीति तथा कार्यक्रममा राष्ट्रिय महत्त्वका सबै ठूला परियोजना समावेश गरिने बुझिएको छ।

सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनःसंरचनातर्फ केन्द्रित हुने बताउनुभयो।

‘बजेटबारेमा नेकपा एमालेलगायत प्रतिपक्षी दलका केही असहमति छ’, उहाँले भन्नुभयो– ‘हामी त्यसबारेमा निरन्तर संवादमा छौं, शनिबार तीन प्रमुख दलबीचमा छलफल भएको छ।’ आजदेखि संसद्को बजेट अधिवेशन शुरू हुँदै छ। आगामी बजेटमा हुने प्राथमिकताका बारेमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले भोलि संसद्को बैठकमा जानकारी दिनुहुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्