गर्मीलाई चिर्दै दौडादौड



कुमार श्रेष्ठ, बाँके
केही दिन यता बाँकेको तापक्रम ४०⁄४१ डिग्री छ। वैशाख २३ गते यसपालिको अधिक गर्मी दिन थियो। जल तथा मौसम विज्ञान विभाग कार्यालय, नेपालगन्जका अनुसार, यो दिन बाँकेको तापक्रम ४१.६ डिग्री थियो।

आइतबार बाँकेको ४०.३ डिग्री तापक्रम रहेको छ। बाहिर बस्नै नसकिने यस्तो प्रचण्ड गर्मीले नेता तथा कार्यकर्तालाई छोएको छैन। उम्मेदवारहरू यो प्रचण्ड गर्मीको वेवास्ता गर्दै दैनिक भेटघाट, घरदैलो, वडा कार्यालयहरू उद्घाटनमा जुटेका छन्।

२० वर्षपछि हुन थालेको स्थानीय निकायको चुनावले नेताहरूलाई उत्साहित बनाएको छ। हुन त, बाँकेमा ४५⁄४६ डिग्रीसम्म तापक्रम पुग्छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एराप्रपा, राष्ट्रिय जनमोर्चा र भित्र–भित्र मोर्चाका नेताहरू गर्मीको वेवास्ता गर्दै चुनावी माहोलमा होमिएका छन्। उम्मेदवारको टिकट पाइसकेका मात्रै होइन, सम्भावितहरू पनि बिहानैदेखि साँझसम्म आफ्नो क्षेत्रमा कुदिरहेका छन्।

जेठ ३१ गते हुने चुनावले बाँकेको गर्मीलाई अझ तताएको छ। नगरका वडाहरूमा एउटा पार्टीले घरदैलो गरेको केही समयपछि अर्को पार्टीका नेता तथा कार्यकर्ताहरू झण्डा, पर्चासहित पुगेको देखिन थालेको छ। जबकी नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा ठूला पार्टीहरूले अझसम्म उम्मेदवार छनोट गरिसकेका छैनन्। सम्भावित उम्मेदवारहरू भने हरेक गतिविधिमा सरिक भइरहेको देखिएको छ।

यस्तो गर्मीमा बिहानैदेखि बेलुकासम्म घरदैलो, कार्यकर्ता भेटघाटमा बिताउनेमा खजुरा गाउँपालिकाका एमाले उम्मेदवार किस्मतकुमार कक्षपति, डुडुवा गाउँपालिकाका सकिल अहमद खाँ अगाडि देखिएका छन्। कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा पनि भेटघाट तीब्र बनेको छ। कांग्रेसले उम्मेदवारको टुंगो नलगाउँदा प्रचारप्रसार हुनुपर्नेजति नभएको नेताहरू बताउँछन्। माओवादी केन्द्रको नेपालगन्ज बजारभन्दा बाहिर बढी रौनक छाएको छ।

पाँच नम्बर प्रदेशमा पर्ने बाँकेलगायत जिल्लामा जेठ ३१ गते चुनाव हुँदै छ। आठवटा स्थानीय निकाय रहेको बाँकेमा तीन ठूला दल, राप्रपासँगै मोर्चाको पनि राम्रै उपस्थिति रहेको छ। संसदीयदेखि संविधान सभाको दुईवटा चुनावसम्म आइपुग्दा एउटै पार्टीले कुनै पनि क्षेत्रमा पकड जमाउन सकेका छैनन्। यहाँका जनताले कहिले कसलाई त कहिले कुन पार्टीलाई जिताएका छन्। पछिल्लो संविधान सभा चुनावमा बाँकेको चारमध्ये तीन वटामा एमालेले जितेको छ। संविधान सभा चुनावमा पाएको मतलाई आधार मानेर पकड भन्दै एमाले हौसिएको छ। कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसवादी दलले पनि आफूहरू कमजोर नरहेको दाबेदाबी प्रस्तुत गरिरहेका छन्।

माओवादी केन्द्रका नेता आइपी खरेल, कांग्रेसका प्रशान्त विष्ट, एमालेका प्रमोद धिताल, राप्रपाका ऋषि देवकोटाले बाँकेको प्रचण्ड गर्मीले चुनावी माहोललाई बिगार्न नसकेको बताए। ‘यो भन्दा त राजनीतिक गर्मी बढिसक्यो, नेताहरूले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्