मधेस दोस्रो चरण निर्वाचनको व्यग्र प्रतीक्षामा



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको वीरगन्ज उपमहानगरपालिका १५ मुर्लीका ५० वर्षीय हुकम मियाँ जेठ ३१ गतेको प्रतीक्षामा रहेका छन्। फलफूलको व्यवसाय गरेर जीविका चलाउने मियाँले जेठ ३१ ग्ते कुर्नुको कारण भने जनप्रतिनिधि छान्नु नै हो। झण्डै दुई दशकदेखि मधेस जनप्रतिनिधिविहीन हुँदा मधेसले धेरै कुरा गुमाउनुपरेको ठहर मियाँको छ।

यस्तै वीरगन्ज उपमहानगरपालिका– ११ का कुसुमलाल श्रेष्ठको पनि तर्क यस्तै छ। स्थानीय तहको निर्वाचन हुन नसक्दा पछाडि परेको मधेसको समग्र विकासका लागि अब निर्वाचनको विकल्प नभएको तर्क उनको छ। यी दुई केवल मधसका प्रतिनिधि पात्र मात्र हुन् जो मधेसको समग्र विकास चाहने गर्दछन्।तीन प्रदेशमा वैशाख ३१ गते भएको निर्वाचनको परिणाम धमाधम आउनेक्रम जारी रहँदा तराई मधेसका नागरिकहरू निर्वाचनको व्यग्र प्रतीक्षामा रहेका छन्।

आफ्नो पक्षमा चुनावी माहोल बनाउनका लागि राजनीतिक दलहरू अहिले जिल्लामा कृयाशील छन्। उनीहरूले उमेदवारी टुंगो लगाउनका लागि प्रयाससमेत शुरु गरेका छन्। मधेस केन्द्रित केही दलहरू एक भएका कारण मधेसमा खास गरी आर्थिक नगरी वीरगन्जको मेयरमा कडा प्रतिस्प्रर्धा हुने आंकलन गरिएको छ। वीरगन्जको मेयरमा धेरैको आँखा लागेको छ। केही दिनमा नै महानगरपालिकाको हैंसियतमा रहने वीरगन्जको मेयरका लागि ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रसहित मधेसवादी दल र उपेन्द्र यादवको दलबाट समेत सम्भावित उम्मेदवारहरूको चर्चा चिया पसलदेखि चौतारोसम्म हुने गरेको छ।

निर्वाचनको वातावरण तराई मधेसको क्षेत्रमा बनिसकेका कारण अब निर्वाचन हुनेमा आशंका नभएको नयाँ शक्ति वीरगन्जका नेता तबरेज आलमले बताए। आफूहरू पनि निर्वाचनको तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए।

जेठ ३१ गते नै मधेसमा सहज रूपमा निर्वाचन हुने उनी बताउँछन्। जिल्लामा कृयाशील राजनीतिक दलदहरू चुनावी अभियानमा होमीसकेका कारण निर्वाचनको विकल्प नभएको उनको तर्क छ। पर्साका एक उपमहानगरपालिका र एक नगरपालिकासहित सबै गाउँपालिकाहरूमा अहिले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्