यी हुन गोरखामा माओवादीको शाख जोगाउनेहरु



सन्तोष अधिकारी, गोरखा ।
२०६४ साल यता देशमा दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न भयो । दुबै निर्वाचनमा गोरखाको तीन वटै क्षेत्रमा माओवादी हावी भयो ।

तत्कालीन गोरखामा समयमा माओवादीको प्रतिद्वन्दी नेपाली कांग्रेसले दुबै निर्वाचनमा कुनै पनि क्षेत्रमा आफ्नो जित स्थापीत गर्न सकेन् । सबै क्षेत्रमा माओवादीका नेताहरुले विजय हाँसिल गरे । तर, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखामा त्यस्तो भएन ।

२०६४ र २०७० सालको निर्वाचनमा माओवादीले जस्तो एकछत्र राज चलाउन नपाएपनि अहिलेको निर्वाचनमा नेपाली कांग्रेसले माओवादीलाई राम्रै सँग पछा¥यो । गोरखाका ११ स्थानीय तहमा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ तहमा कांग्रेसले माओवादीलाई हरायो ।

माओवादीका दुई उमेद्वारले दुई गाउँपालिका जितेर माओवादी केन्द्रको शाख जोगाए । जिल्लाको शहिद लखन गाउँपालिका र शुलिकोट गाउँपालिकामा मात्र माओवादी केन्द्रका उमेद्वारहरु विजयी भएका हुन् ।

शहिद लखन गाउँपालिका
शुलिकोट गाउँपालिकाको प्रमुख पदमा विजयी हुने माओवादीका उमेद्वार हुन रमेश थापा मगर । शहिद लखन गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका रमेश थापा ३,८०८ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्ण आलेले ३४०३ मत मात्र ल्याए । उपप्रमुखमा पनि माओवादी केन्द्रकी इन्दिरा तिवारीले ३,७९८ मत विजयी भइन्। । नेपाली कांग्रेसकी शर्मिला श्रेष्ठले ३५७५ मत ल्याएपनि माओवादीकी उमेद्वारलाई हराउन मत पर्याप्त भएन । शहिद लखन गाउँपालिकामा १८,५०७ मतदाता रहेका थिए ।

२०४७ सालमा नेकपा माओवादीको सदस्यता लिएका रमेश थापाले माओवादी केन्द्रको विभिन्न संगठन निर्माण गर्न महत्वपूर्ण भूमिका खेले ।

२०५० साल गोरखाको गोरखा क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनमा उपसभापतिमा निर्वाचीत भएपछि उनको राजनितीले खास बाटो लिएको उनी बताउँछन् । विद्यार्थीको राजनिती गर्दा गर्दै २०५४ सम्म तनहुँको आँबुखैरेनीमा रहेको नवज्योती बोर्डिङ स्कूलमा पढाएका पनि थिए ।

पढाउने क्रममा विद्यालय आउँदा जाँदा नेपाली सेना, प्रहरी तथा अन्य विभिन्न क्षेत्रबाट दमन हुनथालेपछि २०५४ सालमा पूर्ण भूमिगत भए । भूमिगत कालमा पार्टीको बैचारिक र संगठनात्मक क्षेत्र कसरी बलियो बनाउने भन्नेमा उनको महत्वपूर्ण भूमिका रह्यो ।

२०५५ साल पूष ५ गते थापाकी बहिनी गितालाई नेपाली सेनाले बेपत्ता पारेपछि उनी पिडा सँगै पार्टीमा झन शसक्त ढंगबाट लागेको बताउँछन् । मगर राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय संस्थापक सदस्य समेत रहेका थापा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । थापा शिक्षण पेशा छोडेर अहिलेको स्थानीय तहको निर्वाचनमा शहिद लखन गाउँपालिकाको प्रमुख पदको उमेद्वार भएका हुन् ।

बुंकोटको शहिद स्मृती माध्यामिक विद्यालयबाट राजीनामा दिएर चुनाव लडेका हुन् । गोरखाको जताततै माओवादीले हारिरहँदा यहाँ कसरी जित्नु भो भन्ने प्रश्नमा थापा भन्छन् ‘मैले गाउँठाउँमा कसैको केहि विगारीन । म स्वभावले पनि नरम छु । विशेषत मास्टर छोडेर चुनाव लड्न आएको पढेलेखेको छ भनेर मतदाताले विश्वास गरे भन्ने लाग्छ ।’ पार्टीको आन्तरिक द्वन्द्व, पार्टी फुट नै जिल्लामा कांग्रेसले माओवादीलाई हराएको उनको तर्क छ ।

शुलीकोट गाउँपालिका
शुलीकोट गाउँपालिका तत्कालीन माओवादीले आफ्नो आधार इलाका मानेको क्षेत्र समेत हो । त्यै क्षेत्रमा अहिलेको निर्वाचन मार्फत पनि माओवादीले पुनःकब्जा जमायो ।

सुलीकोट गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्रका विष्णु भट्टले ४६५९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका इन्द्रकुमार गुरुद्धले ३०२२ मत मात्र प्राप्त गरे । उपप्रमुखमा पनि माओवादी केन्द्रकी सनमाया गुरुङ ४५०१ मतका साथ विजयी भएकी छिन् ।

उनले नेपाली कांग्रेसकी जनककुमारी कोइरालालाई हराएकी हुन् । कोइरालाले ३०४२ मत ल्याएकी थिईन् । सुलीकोटमा १५,९५६ मतदाता रहेका थिए ।
२०४४ साल देखि विद्यार्थी राजनिती सुरु गरेका भट्ट लम्जुङको कृषि क्याम्पसमा पढ्दा अखिल क्रान्तिकारीको जिल्ला सचिब समेत भएर काम गरे । माओवादी जनयुद्धका बेला कम्पनी कमिसार भएर युद्ध लडेका भट्ट अहिले सुलीकोट गाउँपालिका को प्रमुख बनेका हुन् ।

जनयुद्ध सुरु हुनुभन्दा पाँच महिना अघिदेखि भूमिगत राजनीतिक जीवन सुरु गरेका भट्टले २०५२ माघदेखि नै छापामार लडाकु र पछि जनमुक्ति सेनामा रहेर काम गरे । पछि उनी वासुस्मृति ब्रिगेडको १० नंबर बटालियनको ए कम्पनी कमिसार भएर युद्ध लडे । शान्ति प्रक्रियामा आएपछि उनले समायोजन छाडेर भूगोलको राजनीति रोजेका थिए ।

त्यसयता क्षेत्र नं ३ को इन्चार्ज भएर निरन्तर काम गरे । अहिले भट्ट नेकपा माओवादी केन्द्रको जिल्ला उपाध्यक्ष समेत हुन् ।
जनयुद्धको क्रममा उनले एक दिदी र एक बहिनी गुमाए । २०५७ सालमा बाग्लुङ जिल्लाको सदरमुकाम क्षेत्रको इन्चार्ज हुँदा पक्राउ परेका उनले तीनबर्ष छ महिना जेल जीवन बिताए ।
अहिले गाउँपालिका जितेपछि उनीसंग विकास निर्माणको चुनौती छ । पुरानो अभ्यास नभएपनि भूगोल, समाज र राजनीतिको राम्रो दख्खल भएकाले काम गर्न सक्ने खुबी भएको दाबी गर्छन् । ‘युद्धका बेला पनि हामी ग्रामीणभेगमा थियौं । दुखी, बिपन्न, निमुखा जनताकै माझमा थिएँ ।

माओवादीले शुलिकोट क्षेत्रलाई आधारइलाका नै बनएको थियो । त्यसैले यस क्षेत्रको भूगोल घुमेको चिनेको छु । यहाँको विकासमा म सधैँ लाग्नेछु ।’

प्रतिक्रिया दिनुहोस्