डब्बुको कथामा नमस्ते काठमाण्डु



पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षत्रीले आफ्नो पहिलो कथा संग्रह नमस्ते काठमाण्डु सार्वजनिक गरेका छन्। राजधानीको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा शनिबार त्यहींका कलाकारले उनको कथा संग्रहमाथि निर्माण गरिएको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरेका हुन्।

समारोहमा संग्रहका कथाको भाव समेटेर बनाइएको गीत नमस्ते काठमान्डु पनि सर्वजनिक गरियो। जुगल डँगोलको संगीत र सन्देश पाठकको स्वरको गीतमा कथाका सबै शीर्षक र भाव समेटिएको थियो। राज शाहको निर्देशनमा सर्वनामका कलाकारले सबै कथाको भाव झल्कने गरी अभिनय गरेका थिए।

कथा संग्रह सार्वजनिक गरिएपछि सो संग्रहमाथि अन्तरक्रियासमेत गरिएको थियो। लेखक सचिन घिमिरेले सहजीकरण गरेको अन्तरक्रियामा अभिनेतृ ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफूले आफ्नै समाजमा देख्दै आएको बताईन्। संग्रहका थुप्रै कथाका पात्रहरु आफूलाई मन परेको र ती पात्रको रूपमा अभिनय गर्न चुनौती हुने चर्चा गर्दै उनले भनिन्– ‘कथामा समेटिएका कतिपय पात्र यस्तो मनोविक्षिप्त छन् कि उनीहरुको भूमिका निर्वाह गर्न पनि निकै चुनौतीपूर्ण हुने ठानेको छु।’ आफूले निर्माण गरेको फिल्म आधा लभ तेस्रोलिंगी तथा समलिंगी विषयमा केन्द्रित रहेको र नमस्ते काठमाडौंका कथाहरु पनि यौन विद्रोहमा केन्द्रित रहेको पाएको उनले बताइन्।

त्यसै गरी पत्रकार यज्ञशले क्षत्रीको कथा लेखनमा पत्रकारिताको लेखन शैली झल्किएको बताए। उनले कथाहरुमा नयाँ प्रयोग गरिएको पाइएको चर्चा गर्दै समाजका वर्गअनुसारको यौन अवस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए।

लेखक डब्बु क्षत्रीले आफूले समाजमा देखेका घटनालाई कथामा ढालेर यो संग्रहमा ल्याएको बताए। आफ्ना कथाहरु यौन अश्लीलता नभएर यौन विद्रोहको भएको दाबी उनले गरे। उनको यो संग्रहमा १८ कथा छन् भने यसको मूल्य ३ सय ५० रुपियाँ राखिएको छ।

उपन्यासकार जया ओझाले नमस्ते काठमाण्डुका कथाहरु यौनमा केन्द्रित भए पनि अश्लील नभएको चर्चा गरिन्। संग्रहको प्रकाशन संस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नयाँ प्रयोग पाएकाले प्रकाशन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्