निखिल हिन्दी फिल्म निर्देशन गर्दै



नेपाली फिल्मको बाह्य बजार विस्तार गर्ने क्रममा ढिलै भए पनि बहुभाषाका फिल्म बन्न थालेका छन्। नायक, निर्माता तथा निर्देशक निखिल उप्रेतीले पनि यही सोचले नेपाली र हिन्दी भाषाको फिल्म बनाउने भएका छन्। उनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी बहुभाषाको फिल्म कमिटमेन्ट ः सिक्स्टी आवर्स निर्माणको घोषणा गरे।

यो फिल्मको निर्देशन निखिल स्वयंले गर्नेछन्। यसको मुख्य भूमिकामा पनि उनैले अभिनय गर्दै छन्। निखिलले यसअघि भैरव नामक फिल्मको निर्देशन गरेका थिए। फिल्मको निर्माण भने भारतको प्रामा इन्सटुमेन्ट्सले गर्न लागेको हो। निखिलका अनुसार फिल्मको बजेट ३ करोड बढी हुनेछ। ‘यो फिल्मका लागि ३ करोड रुपियाँ ठूलो होइन। किनभने यो एक्सन फिल्ममा एक्सनकै लागि मात्र १ करोड रुपियाँ खर्च हुनेछ।
बलिउडका स्थापित कलाकारहरुलाई लिएको छु। उहाँहरुलाई यो फिल्मका लागि मनाउन सकियो’, निखिलले भने– ‘त्यसैैले ३ करोड बजेट ठूलो होइन। बलिउडका कलाकारहरुले यो फिल्ममा खेल्न मान्नुको एउटै कारण हो यसको कथावस्तु।’ निखिलका अनुसार फिल्ममा बलिउडका कलाकारहरु रञ्जित, सयाजी सिन्दे, अनन्त जोग, अली जाफर, नन्सीलगायतले समेत अभिनय गर्नेछन्। रञ्जित वेलकम ब्याक, हाउसफुल–२, बम्बे टु गोवा, सावनजस्ता फिल्मका कलाकार हुन्। त्यसै गरी सयाजी सिन्दे बलिउड र तेलुगु फिल्मका चर्चित खलनायक हुन्। उनले आई, माजरी मानसा, बापु वीर बतागाओन्कर, बजिर जस्ता फिल्ममा काम गरेका छन् भने अनन्त जोगले राउडी राठौर, लालसलाम, सरकार जस्ता फिल्मका कलाकार हुन्। अली जाफर सुल्तानका चर्चित कलाकार हुन्। फिल्मका लागि नायिका भने पक्का गरिसकिएको छैन।
फिल्मको कथावस्तु खुलाउँदै निखिलले भने– ‘नेपालको एउटा व्यक्तिले कसैलाई मुम्बईबाट रेस्क्यु गरेर नेपाल ल्याउन ६० घण्टाको कमिटमेन्ट गरेको हुन्छ। त्यो कमिटमेन्ट पूरा गर्न उसले गर्ने संघर्ष नै फिल्मको कथा हो।’ निखिलका अनुसार यो फिल्मको सुटिङ नेपालका साथै भारत, थाइल्यान्ड, सिंगापुर र अमेरिकामा हुनेछ। फिल्ममा ७० प्रतिशत भारतीय र ३० प्रतिशत नेपाली भाषा रहने उनले जनाए।

प्रतिक्रिया दिनुहोस्