सिमेन्ट उत्पादनमा हामीले संसारकै सर्वाधिक स्वीकार गरिएको प्रविधि प्रयोग गरेका छौं



विनोद अधिकारी सिनियर जनरल म्यानेजर, सेल्स एन्ड मार्केटिङ, सर्वोत्तम सिमेन्टस् प्रालि

नेपाली सिमेन्ट उद्योगले पछिल्लो समयमा आन्तरिक माग धान्न सफल हुन थालेका छन्। भूकम्पपछिको पुनर्निर्माण एवम् नवनिर्माणका कारण अहिले बजारमा सिमेन्टको माग पनि बढ्दो छ। यसैक्रममा उच्चस्तरीय प्रविधिबाट सिमन्ेट उत्पादन गर्दै स्थापनाको छोटो अवधिमा उत्कृष्ट गुणस्तरको सिमेन्ट उत्पादन गरी बजारमा सर्वोत्तम सिमेन्टले छुट्टै परिचय बनाउन सफल भएको छ। औद्योगिक समूह सौरभ ग्रुपअन्तर्गत रहेको यस उद्योग नवलपरासीमा स्थापना भएको छ। आफैं क्लिंकर उत्पादन गर्नुका साथै उद्योगलाई आवश्यक विद्युत् पनि आफैं उत्पादन गर्दै आएको छ। उद्योगले नेपालमा पहिलोपटक युरोपियन प्रविधिसहित आधुनिक प्रविधिमा आधारित रहेर वातावरणमैत्री सिमेन्ट उत्पादन गर्दै आएको छ। दशक अघिदेखि विभिन्न उद्योगमा सक्रिय भई व्यावसायिक अनुभव बटुल्नुभएका विनोद अधिकारी अहिले सर्वोत्तम सिमेन्टको सिनियर जनरल म्यानेजर (सेल्स एन्ड मार्केटिङ) हुनुहुन्छ। युरोपबाट एमबीए, सप्लाई चेन म्यानेजमेन्टमा पोस्ट ग्रयाजुएट गर्नुभएका अधिकारीसँग नेपाली सिमेन्ट बजारको पछिल्लो अवस्थाका बारेमा नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठले गर्नुभएको कुराकानी :

अहिले नेपालको सिमेन्टको बजार कसरी अघि बढिरहेको छ ?

भूकम्पपछि पुनर्निर्माणको काम अगाडि बढिरहेका कारणले नेपाली बजारमा सिमेन्टको माग अहिले बढ्दै गएको छ। विकास निनर्माणका काम एवम् पूर्वाधार निर्माण पनि सँगै अघि बढ्दै गएकाले सिमेन्टको माग बढेको हो। पहिले मानिसले साधारण घर बनाउँथे पहिले काठको घर बनाउनेले पनि बिस्तारै सिमेन्टको घर बनाउन थालेकाले पनि सिमेन्टको बजार तातिरहेको छ।

आपूर्तिको अवस्था कस्तो छ ?

नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर बनिसकेको छ। नेपालमै उत्पादन भएको सिमेन्टले नेपाली बजार धान्ने अवस्था रहेको छ।

पछिल्लो समय सिमेन्टको मूल्य उच्च गतिले बढ्यो भन्ने गुनासो बढिरहेको छ, वास्तविकता चाहीँ के हो ?
बास्तवमा सिमेन्टको मूल्य उच्च गतिले बढेकै होइन। मूल्य बढाउने धेरै फ्याक्टर छन्। नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएपछि त्यसबाट उद्योगहरूलाई निकै राहत पुगेको होला भनेर सर्वसाधारणमा भ्रम छ। तर, पावर कट घटे पनि उद्योगहरू अझै फूल फेजमा चल्न सकेका छैनन्।

पछिल्लो समय सिमेन्टको उत्पादन भने बढेको छ। अर्को समस्या नेपालमा पर्याप्त क्लिंकर पाइँदैन। नेपालमा क्लिंकर उत्पादन गर्ने ५–६ वटा मात्रै सिमेन्ट उद्योग छन्। भारतबाट आयात गरिएका क्लिंकर तथा कच्चा पदार्थ तुलनात्मक रूपमा महँगो भएकाले ती कम्पनीको सिमेन्टको मूल्य केही बढ्नु बाध्यता हो। यद्यपि, कच्चा पदार्थको मूल्य जुन दरमा बढेको छ त्यही दरमा सिमेन्टको मूल्य भने बढेको छैन।

भनेपछि नेपालमै क्लिंकर उत्पादन गर्ने उद्योगमा सिमेन्टको मूल्य बढेको छैन त ?

त्यस्तो हैन, सिमेन्टको मूल्य निर्धारण गर्ने एउटै मात्र फ्याक्टर हुँदैन। क्लिंकर मूल्यवृद्धिलाई कमर्सियल भ्यालुमा पनि हेर्नुपर्ने हुन्छ। क्लिंकरको मूल्य जुन दरमा बढेको हुन्छ त्यसबाट आउने आम्दानीले कम्पनीको अन्य खर्च धानेको हुँदैन। क्लिंकर नेपालमै उत्पादन भए पनि अथवा विदेशबाट आयात भए पनि त्यसको मूल्य जुन दरमा बढेको हुन्छ त्यसले नै सिमेन्टको मूल्य निर्धारण गर्छ।
क्लिंकरको ढुवानी तथा कच्चा पदार्थ संकलनमा धेरै किसिमका खर्च हुन्छन्। ती समयानुसार बढ्दै जान्छन्।

स्वदेशमै उत्पादन भएको क्लिंकरबाट उत्पादितमा सिमेन्टको मूलय बढी हुनुमा कतै सिन्डिकेट लगाइएको त होइन ?

यो सिन्डिकेट होइन किनभने देशैभरी सबै सिमेन्ट कम्पनीको एउटै मूल्य छैन। सिमेन्टको मूल्य क्लिंकरको मूल्यका कारण फरक पर्ने हो। फरक कम्पनीले फरक मूल्यमा क्लिंकर किन्छन्। उनीहरूको कच्चा पदार्थको मूल्य जुन दरमा बढ्छ, त्यही दरमा सिमेन्टको मूल्य निर्धारण हुन्छ। ठूलो मात्रामा क्लिंकर किन्ने र सिमेन्ट उत्पादन गर्ने कम्पनीको मूल्यमा फरक पर्न सक्छ। त्यस्तै माग बढ्यो भने मूल्य पनि बढ्छ। यो स्वभाविक हो।

पुनर्निर्माणको बेलामा राज्यले मूल्य नबढाउन आग्रह गरेको अवस्थामा सिमेन्ट उद्योगहरूले सरकारसँग घटाउने सहमति गर्ने पछि डिलरसम्म पुग्दा बढेर पुग्ने किन ?

राज्यले मूल्य बढाउन रोक्नलाई उसले क्लिंकर उत्पादन, आयात तथा त्यसको मूल्य नियन्त्रणमा पनि सहयोग गर्नुपर्यो नि। सिमेन्ट उद्योगमा विभिन्न कर हुन्छन्। भन्सार तथा विभिन्न करले प्रत्यक्ष तथा अप्रत्पक्ष रूपमा मूल्यलाई असर गरेको हुन्छ।

अर्कोतर्फ नेपाली उद्योग बैंकको ऋणमा चलेका छन्। नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार वाणिज्य बैंकले समयानुसार ब्याजदर बढाउँछन्। हिजो ५–६ प्रतिशतमा पाइने ऋण आज १२–१३ प्रतिशतमा पनि पाइँदैन। त्यस्तै क्लिंकरको मूल्यमा पनि धेरै परिवर्तन भइसक्यो। कम्पनीका यातायात खर्चदेखि मजदूरलगायतका अन्य धेरै खर्च हुन्छन्, यी सबैका मूल्य तथा खर्च बढेको बढ्यै छ, यी सबैको समग्र असर मूल्यमा पर्छ।

उद्योगीले सरकारसँग एउटा सहमति गर्ने तर एसएमएसबाट दैनिक मूल्य दर परिवर्तन गर्नाले उपभोक्ता र डिलरबीच द्वन्द्व सिर्जना गराउने गरेको वितरकको आरोप छ, यसमा तपाईं के भन्नुहुन्छ ?

मलाई जहाँसम्म लाग्छ कुनै पनि कम्पनीको डिलरले यो कुरा गर्न सक्दैन। किनभने मूल्य परिवर्तन हुनुभन्दा अगाडि डिलरलाई त्यसको बारेमा जानकारी गराइसकिएको हुन्छ। यो समयदेखि यो मूल्य लागू हुन्छ भन्ने कुराको पहिले नै जानकारी गराउँछौं, तपाईंले भनेको जस्तो होइन। प्रायः यो इमेलमा पठाइने गरिन्छ, एसएमएस भनेको सजिलो तरिका हो। कसैले ढिलो कसैले चाँडो एसएमएस पाउँदा त्यसो भएको हुन सक्छ।

यहाँले हामी आत्मनिर्भर छौं त भन्नुभयो तर क्लिंकर आयात गरेर कसरी आत्मनिर्भर भइयो र ?

आत्मनिर्भर भन्नुको अर्थ क्लिंकरमा होइन सिमेन्ट उत्पादनमा आत्मनिर्भर छौं भन्न खोजिएको हो। क्लिंकर आयात गरेरै भए पनि सिमेन्ट उत्पादनमा विदेशीको भर पर्नु परेको छैन। नेपालमै पनि क्लिंकर उत्पादन गर्ने कम्पनीको संख्या बढिरहेको छ। यसकारण नेपाल चाँडै नै कच्चापदार्थमा पनि आत्मनिर्भर बन्नेछ।

नेपालमा नै पर्याप्त क्लिंकर किन उत्पादन हुन नसकेको हो ?

यस विषयमा सम्बन्धित समस्या भनेका खानी उत्खनन्देखि नीतिमा भएका समस्याहरू हुन्। खानी उत्खनन् अनुमति नपाउनेदेखि आयोजना पूरा हुँदा आउने समस्यासम्मका विभिन्न समस्या आइपर्छन्। क्लिंकरको लागि आफैं पनि लगानी धेरै गर्नुपर्ने हुन्छ। अहिले सिमेन्ट उद्योगमा जति लगानी बढेको छ त्यति क्लिंकरका लागि लगानी भएको छैन।

नेपाली सिमेन्ट उद्योगका चुनौती के–के छन् ?

आपूर्तिको कुरा गर्दा ढुवानीको भाडा समय–समयमा परिवर्तन भइराख्छ। भौगोलिक अवस्था, राजनीतिक अस्थिरताजस्ता धेरै चुनौती सिमेन्ट उद्योगलाई छ।

नेपाली सिमेन्ट साना तथा घरेलु निर्माणमा मात्रै सीमित भएको सुनिन्छ। ठूला परियोजनाका लागि चाहीँं नेपाली सिमेन्टको गुणस्तर नपुगेको हो ?

नेपालका सबै निर्माण कार्यमा स्वदेशी उत्पादन उपयोग हुन्छन्। नेपालमा उत्पादन भएका सिमेन्ट जुनसुकै परियोजनाका लागि पनि उपयुक्त छन्। सिमेन्टको जति मसिनोपना बढ्दै जान्छ त्यति गुणस्तर बढेर जान्छ। त्यसमा कुन प्रविधि प्रयोग गरिएको छ भन्ने कुराले महत्व राख्छ।

कुनै उत्पादनको क्वालिटी कन्स्ट्यान्ट कत्तिको छ भन्ने कुरा महत्व राख्छ। जुन उत्पादनको मसिनोपना कन्स्ट्यान्ट हुन्छ त्यो नै सर्वोत्तम क्वालिटीको सिमेन्ट हो। हाम्रो उत्पादन सर्वोत्तम सिमेन्ट बजारमा पाइने सबैभन्दा उत्कृष्ट क्वालिटीको सिमेन्ट हो।

जति राम्रो प्रविधिको प्रयोग हुन्छ त्यतिनै उच्च ग्रेडको सिमेन्टको उत्पादन हुन्छ। सर्वोत्तम सिमेन्टले अपनाएको प्रविधि संसारकै सर्वाधिक स्वीकार गरिएको प्रविधि हो। क्वालिटीमा विदेशी सिमेन्ट नै राम्रो हुन्छ भन्ने ठाउँ छैन। किनभने कुन कम्पनीले कुन प्रविधि प्रयोग गर्छ त्यो बुझ्नपर्ने हुन्छ।
ग्रेड नलेख्नाले ठूला परियोजनामा असर परेको पो हो कि ?

यसमा गे्रडले पनि केही भूमिका त खेलेको हुन्छ। सरकारले उत्पादनका लागि केही मापदण्ड तोकेको हुन्छ। हामीले त्यसैमा रहेर उत्पादन गर्ने हो। मापदण्ड पुगेको छ तर ग्रेड लेख्न अनुमति नपाएको मात्र हो।
नेपाली सिमेन्टको ग्रेडको मापदण्ड नपुगेको पो हो की ?

नेपाली उत्पादन नेपाल स्ट्यान्डर्स अनुसार नै हुन्छ। त्यसमा ग्राहकले कुनै चिन्ता लिनुपर्दैन। नेपाल गुणस्तरको क्राइटेरिया फलो गर्नुपर्ने हुन्छ। नेपालमा उत्पादनको अनेक ट्रेडिसनल प्रोकुरमेन्टका प्रक्रिया फलो गरिन्छ जसमा ग्रेडिङको कुरा गरेर प्रोकुरमेन्टको लागि एनाउन्स गरेको हुन्छ। तर, त्यो ग्रेड हामीले लेख्न पाएका हुँदैनौ। यसले गर्दा नेपालको सिमेन्टको क्वालिटी पुगेन भनेर कतिपयले भन्ने गरेका मात्रै हुन्।
त्यसो भए नेपाली उत्पादन ग्रेड मापदण्डकै हुन् त ?

एकदमै सहि कुरा भन्नुभयो, ग्रेड मापदण्ड अनुसारकै सिमेन्ट उत्पादन गरेर बजारमा ल्याएका हुन्छौं। सरकारले नीति नियम परिवर्तन गरेर ग्रेड लेख्ने अनुमति दिनुपर्र्छ।

सर्वोत्तम सिमेन्टको कुरा गरौं, तपाईंहरूले ‘महाच्यालेन्ज’ भन्नुभएको छ यो के हो ?

युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने सर्वोत्तम सिमेन्ट नेपालकै पहिलो र एकमात्र सिमेन्ट कम्पनी हो। सर्वोत्तम सिमेन्ट प्रालिले क्रसबार कुलर मेसिन कन्ट्रोल प्रयोग गरी सिमेन्टको उत्पादनमा एकरूपता प्रदान गर्ने कम्पनी हो। हामी उत्पादनको विज्ञापनभन्दा पनि प्रविधि र गुणस्तरमा केन्द्रित हुन्छौं। हाम्रो कम्पनीले राम्रो उपर्युक्त घर बनोस् भन्ने सोच्छ। यस्तो सर्वोत्तम टेक्नोलोजी कसैसँग छ, यो नै हाम्रो महाच्यालेन्ज हो।

उपाभोक्ताले सर्वोत्तम सिमेन्ट नै किन प्रयोग गर्ने ?

हामीले संसारकै सर्वाधिक स्वीकार गरिएको प्रविधिको प्रयोग गर्छौ। हामीले भर्टिकल रोलर मिल (भीआरएम) प्रयोग गरेका छौं। नेपालमै पहिलोचोटी हामीले सिमेन्ट उत्पादनमा एक्सपर्ट कन्ट्रोल सुपरभिजन (इपिएस) सिस्टम र इन्टिलिजेन्ट मोटर कन्ट्रोल सेन्टर (आईएमसीसी) प्रयोग गरेका छौं, जसको कारण सिमेन्ट क्वालिटीको कन्सिस्ट्यान्सी मेन्टेन हुन्छ। कन्सिटेन्सी भने सिमेन्टको आकारमा समानता हुनु हो। हाम्रो सिमेन्टका सबै कण समान आकारका हुन्छन्। यस्तो कम इरर भएको प्रोडक्सन सिस्टम नेपालका कुनै मिलमा छैनन्।

हामीले प्रयोग गर्ने अर्को प्रविधि भनेको एसआरएस हो। ल्यावमा प्रयोग गरिने यो एक्सरे डिफ्लेक्सन मेसिन हो। अन्य सिमेन्ट मिलमा साधरणतया तौलको सुक्ष्म परीक्षण रसायणबाट गरिन्छ भने सर्वाेत्तम सिमेन्टका हरेक कण एक्सरे परीक्षण पास गरेका हुन्छन् जसको कारण सबै कण समान हुन्छन्। त्यस्तै अन्य सिमेन्टभन्दा हाम्रो उत्पादन मसिनो हुन्छ। हाम्रो सिमेन्टको हरेक कण डाइमन्ड सेपको हुन्छ। जसले गर्दा पकड शक्ति ज्यादा हुन्छ, अन्य सिमेन्टको गोलो हुन्छ।

हाम्रो सिमेन्टको आफ्नै चुनढुंगा खानी छ, हामी आफैं क्लिंकर उत्पादन गर्छौ। साथै हाम्रो आफ्नै ५ मेगावाटको पावर ब्याकअप छ जसको कारण हाम्रो उद्योगमा लोडसेडिङ हुँदैन। लोडेसेडिङ हुने समयमा आउने फाइननेस् इरर हाम्रोमा हुँदैन।यिनै कारण हामी हाम्रो उत्पादनको ग्यारेन्टी दिन्छौं। त्यसैले हरेक घर, निर्माण परियोजनामा सर्वोत्तम सिमेन्ट प्रयोग गर्दा राम्रो हुन्छ।
यति धेरै विशेषस्ता भएको सिमेन्टको मूल्य पनि धेरै होला नि ?

मूल्य साधारणतया बजारको मागबाट निर्धारण हुन्छ। आजको हाम्रो मूल्य एकदमै प्रतिस्पर्धी छ। अन्य सिमेन्टको तुलनामा दाँज्दा अरूभन्दा केही बढी होला तर गुणस्तर अनुसारको मूल्य उपभोक्ताले बहन गर्न सक्ने छ।
उद्योग सञ्चालनको करिब एक वर्षको अवधिमा सर्वोत्तम सिमेन्टको मूल्य र क्वालिटीको बारेमा सर्वसाधरणबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

छोटो समयमा सर्वोत्तम सिमेन्ट बजारको विश्लेषण गर्दा उपभोक्ताको सकारात्मक फिडब्याक प्राप्त भएको छ। सर्वोत्तम सिमेन्ट उपभोगकर्ताले फेरि प्रयोग गर्दा सर्वोत्तम सिमेन्ट नै रोज्ने गरेका छन्। छिमेकी आफन्तहरूलाई पनि यही ब्रान्डको सिमेन्ट प्रयोग गर्न सल्लाह दिने गरेका छन्। यस अर्थमा भन्नुपर्दा माउथ पब्लिसिटी भएको छ।
गुणस्तरका बारेमा उपभोक्तालाई कसरी जानकारी दिँदै आउनु भएको छ ?

हामीले नियमित विज्ञापनमा आकर्षक एनिमेसन भन्दा पनि यहाँ प्रयोग गरिएको प्रविधि, यसको क्वालिटीको बारेमा जानकारी गराउँछौं। साथै हामीले बुकलेटहरू पनि बाँडिरहेका हुन्छँैं हामीले उत्पादनभन्दा पनि उत्पादन प्रक्रियाको बारेमा जानकारी गराउँछौं।
अन्त्यमा केही छ कि ?

बजारमा पावरकट, क्लिंकर अभाव तथा विभिन्न कारणले अन्य कम्पनीले फुल फेजमा उत्पादन नगर्दा बजारको माग धान्न नसकेको अवस्थामा सर्वोत्तम सिमेन्ट बजारमा हुने अभाव कम गने क्षमता राख्दछ।

प्रतिक्रिया दिनुहोस्