पर्यटकीय नगरी बनाउने भनिए पनि मुसिकोटको फोहर हटेन



धनवीर दाहाल, रुकुम

रुकुम जिल्लाको सदरमुकाम मुसिकोटलाई पर्यटकीय नगर बनाउनका लागि धेरै प्रयास नभएका होइनन्। मुसिकोटको एउटा टोल पूर्ण सरसफाइयुक्त टोल पनि घोषणा भइसकेको छ। मुसिकोट बजारको चन्दननाथ टोल पूर्ण सरसफाईयुक्त टोल घोषणा भइसकेको छ। तर, मुख्य बजार क्षेत्र व्यवस्थित नहुँदा दिनानुदिन फोहर बढ्दै गएको छ।

बढ्दो मात्रामा भइरहेको घर निर्माण र सडक बिस्तारले गर्दा झन् फोहर देखिएको छ। मुसिकोटको पुष्पलाल चोक, बालमन्दिर, बागबजार, शहिद मैदानलगायतका ठाउँमा रहेको फोहरलाई व्यवस्थित नगर्दा सदरमुकाममा दुर्गन्ध फैलिएको हो। फोहर थुप्रिँदै जाँदासम्म त्यसलाई उचित स्थानमा व्यवस्था गर्नमा कसैको चासो नगएको स्थानीयको गुनासो छ।

मुसिकोट बजारलाई व्यवस्थित बजार बनाउनका लागि केही ढिला भएको मुसिकोट नगरपालिकाले स्वीकार गरेको छ। तर दिनानुदिन बढ्दै गएको फोहरलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले पहल गरिरहेको मुसिकोट नगरपालिकाका इन्जिनियर घनश्याम शर्माले बताउनुभयो।

मुसिकोटलाई थप आर्कषित बनाउने मुसिकोटडाँडा, चाँपा, सल्ले विमानस्थल तथा डिग्रे साईकुमारी मन्दिरसम्म पुग्ने पर्यटकका लागि बजारको फोहरले वितृष्णा जागेको छ। बजारलाई कालोपत्रे गर्ने तथा खानेपानीको लागी पाइप बिछ्याउन भन्दै एक वर्षदेखि मध्यबजारमा विभिन्न खाल्डा पारिएको छ। वर्षात्को समय शुरू हुन एक महिनासम्म पनि खाल्डाखुल्डी नपुर्दा समस्या उत्पन्न भएको छ।
जिल्ला समन्वय समिति रुकुमले सम्बन्धित निकायलाई ध्यानकर्षण गराउने बताएको छ। जिल्ला समन्वय समिति रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले मुसिकोटलाई सुन्दर र सफा शहर बनाउन नगरपालिकासँगको समन्वयमा यथाशीघ्र पहल गर्ने बताउनुभयो। रुकुमका अन्य बजार क्षेत्रभन्दा मुसिकोट सबैभन्दा ठूलो बजार भएकाले पनि यो ठाउँको सुन्दरताबाट मात्र अन्य बजार क्षेत्रले सिक्न सक्दछन्।

प्रतिक्रिया दिनुहोस्