स्पेशल तेक्वान्दो ग्रेडिङ सम्पन्न



काठमाडौं, (नेस)
अनाथ र असाहय बालबालिका लक्षित गरी संचालन भएको तेक्वान्दो स्पेशल कोर्सका सहभागी खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ।

शनिबार सातदोबाटोस्थीत नेपाल तेक्वान्दो संघको निर्माणाधिन बहुमुखी प्रशिक्षण हलमा कुल आठ संस्थाका खेलाडीको ग्रेडिङ सम्पन्न भएकोे हो। संघद्वारा आयोजित पहिलो चरणको ग्रेडिङमा कुल २ सय १८ खेलाडीले परिक्षामा सहभागीता जनाएका थिए। जसमा सेतोे देखि पहेँलोमा ९६, पहेँलो देखि पहेँलो–हरियोमा १५, हरियो देखि हरियो–निलोमा १५, हरियो–निलो देखि निलोमा २७, निलो देखि निलो–रातोमा २० र निलो–रातो देखि रातो पेटीमा ४५ खेलाडी ग्रेडिङ परिक्षा दिएको स्पेशल तेक्वान्दो प्रशिक्षणका संयोजक कुमार लामा घिसिङले बताए। उक्त कोर्ष अन्तर्गत रहेर विभिन्न प्रशिक्षकले १० महिनासम्म ती सस्थामा प्रशिक्षण गराउनेछ।
कार्यक्रममा संघका अध्यक्ष प्रकास सम्शेर राणाले आठ प्रशिक्षकहरू १० महिने नियुक्ती पत्र प्रदान गरे। दोस्रो चरण अन्तर्गतको ग्रेडिङ कास्कीमा बुधबार ग्रेडिङ हुने संयोजक लामाले बताए। कार्यक्रममा नेपाल तेक्वान्दोका संस्थापक दिपराज गुरुङले खेलाडीको उत्साह र मेहनतले एक दिन देशका लागि ठुलो सफलता दिलाउने विश्वास ब्यक्त गरे।

कार्यक्रममा संघका अध्यक्ष राणा,ओलम्पियन दिपक विष्ट र कोरियाली प्रशिक्षक जो होङ लीले ग्रेडिङ सहभागी खेलाडीलाई र संस्थालाई प्रमाणपत्र प्रदान गरे। ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ भएको उक्त तालिम दश महिनासम्म आठ अनाथ बालबालिका संरक्षित सस्थामा सञ्चालन भइरहेको छ। उक्त कार्यक्रमबाट कुल आठ संस्थाका करिब ३ सय बालबालिकाले तेक्वान्दो खेल खेल्न लाभ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्