राप्रपाले खोल्यो हेटौंडामा खाता



नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ८ गाउँपालिका र १ नगरपालिकामा हालसम्म शून्य भएको राप्रपाले हेटौंडा उपमहानगरपालिकामा खाता खोलेको छ ।
राप्रपाले हेटौंडा–६ बाट खाता खोलेको हो । शनिबार प्राप्त मत परिणामअनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा विजय हासिल गरेकी छिन् । उनले नेकपा एमालेकी प्रिया पौडेल र नेपाली कांग्रेसकी शोभा खतिवडालाई पछि पार्दै सदस्यमा विजय हासिल गरेकी हुन् ।
राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, नगर अध्यक्ष गुरुप्रसाद सापकोटाको वडामा उनीहरुको इज्जत बढाउँदै तिमल्सिनाले खाता खोलेको राप्रपाका कार्यकर्ताको भनाइ छ । १ सय २ वटा वडामा भएको निर्वाचनमा राप्रपाले हालसम्म प्रतिष्पर्धी शक्तिका रुपमा प्रस्तुत हुन सकेको थिएन ।
हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दिएको राप्रपा त्यहाँ पनि प्रतिष्पर्धी शक्तिका रुपमा नदेखिँदा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये राप्रप नेताहरुले जित्ने लिष्टमा राखेको उक्त वडामा समेत राप्रपाले वडा अध्यक्षमा विजयी हासिल गर्न नसकेको हो ।
राप्रपा मकवानपुरका धेरै नेताहरु बसोबास गर्ने हेटौंडा–६ नम्बर वडा अध्यक्षमा समेत राप्रपाले एउटा सदस्यमात्र विजयी हुन सफल भएको हो । वडामा नेपाली कांग्रेसका अर्जुनप्रसाद चौलागार्इं अध्यक्ष विजयी भएका छन् । चौलागार्इंले ९ सय ७५ मत ल्याए । एमालेका अध्यक्ष उम्मेदवार गणेशबहादुर दुलालले ८ सय ६९ मत प्राप्त गरे भने राप्रपाका केदार राईले ८ सय ६४ मत ल्याएर तेस्रो स्थानमा रहे ।
यसअघिको चुनावमा मकवानपुरको ३ नम्बर क्षेत्रमा थोरै मतले मात्र राप्रपा उम्मेदवार दीपकबहादुर सिंह पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्