सूर्यविनायकको प्रमुख, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी



भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा (एमाले)का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी हुनुभएको छ ।

आज बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १० को वडाध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी हुनुभएको छ । राउत एक हजार २० मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरि कार्की विजयी हुनुभएको छ ।

सूर्यविनायक नगरपालिकामा कुल १० वटा वडा रहेकामा सातवटा वडा एमालेले प्यानलसहित विजयी हासिल गरेको छ भने तीनवटा वडामा काँग्रेसले विजयी हासिल गरेको छ ।

मध्यपुरथिमि–६ मा काँग्रेसको प्यानल विजयी

मध्यपुरथिमि नगरपालिका वडा नं ६ को वडाध्यक्षसहित सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

वडाध्यक्षमा काँग्रेसका उम्मेदवार इन्द्रबहादुर प्रजापति श्रेष्ठले एक हजार २१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलकृष्ण खाँस प्रजापतिले ५७४ मत प्राप्त गर्नुभएको छ ।

काँग्रेसकै महिला सदस्य अरुण कारञ्जित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी हुनुभएको छ ।

त्यसैगरी यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ८७० मतले अग्रस्थानमा रहनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेँ आठ हजार पाँच मतले पछाडि पर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी अञ्जना मधिकर्मी सात हजार ९९५ मतले अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी केदार खड्का पाँच हजार ३३४ मतले पछाडि पर्नुभएको छ । मध्यपुरथिमिको वडा नं ७ को मतगणना जारी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्