फर्जी मत भेटिएपछि गणना स्थगित



नेपाल समाचारपत्र
पोखरा
फर्जी मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगर वडा नम्बर १७ को मतगणना स्थगित भएको छ।

१४ सयभन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिह्नमा फर्जी छाप लगाएको मतपत्र भेटिएको हो। फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित हुन पुगेको हो। फर्जी छाप लगाएको मतपत्र भेटिएको भन्दै एमालेबाहेकका दलले विरोध जनाएपछि मतगणना स्थगित भएको छ।

पोखरा–१७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको आरोप लगाउँदै एमालेबाहेक दलका प्रतिनिधिहरू बाहिरिएपछि पोखरा लेखनाथ महानगरको सम्पूर्ण मतगणना स्थगित भएको छ।

पोखरा–१७ मा १५ सयभन्दा बढी मत गणना भएपछि दिउँसो फर्जी मत भेटिएको भन्दै एमालेबाहेकका दलले मतगणना बहिष्कार गरेका छन्। सूर्य चिह्नमा फरक रंग र फरक स्वस्तिक छापसहित एउटै मतपत्रमा मतदान अधिकृतको दुईवटा हस्ताक्षर भेटिएपछि मतगणना स्थगित गर्न माग गरिएको मतगणनामा खटिएका कांग्रेस प्रतिनिधि युवक लामिछानेले बताए। फर्जी मतबारे अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आएपछि मात्रै मतगणना शुरू गर्नुपर्ने कांग्रेसको माग छ। साथै वडा नम्बर १७ को विवाद टु·ो नलागेसम्म अन्य वडाको पनि मतगणना हुन नदिने अडान छ। साथै एमालेबाहेकका दलले विवादित वडामा पुनः निर्वाचनको मागसमेत गरेका छन्।

३३ वडा रहेको पोखरा लेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको थियो भने १४, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना जारी थियो। निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधिहरूसँग बैठक चलिरहेकाले केहीबेरमा मतगणना शुरू हुने दाबी गरिरहेका छन्। फर्जी भनिएको मतपत्रमा साविकको भन्दा बाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले स्वीकारेका छन्। ‘२०७० सालमा प्रयोग गरिएकोजस्तो छाप देखिएको छ। अहिलेको छाप यस्तो छैन’, उनले भने– ‘आयोगले केही ठाउँमा पहिलेकै छाप पठाएको भन्ने पनि सुनिएको हो। हामी बुझ्दै छौं।’

जिल्ला सदस्य युवक लामिछानेले मतगणनाका बेला मतपत्रमा फरक स्वस्तिक छाप भेटिएको बताए। ‘अरू पार्टीलाई पनि सोही छाप परेको भए स्वीकार गर्न सकिन्थ्यो। सूर्यमा मात्रै कसरी गयो?’, उनले भने– ‘निर्वाचन आयोगले समाधान नखोजेसम्म मतगणनामा सहभागी हुँदैनौं।’ वडा एकाइ सभापति देवीप्रसाद आचार्यले यही अवस्थामा मतगणना हुन नसक्ने बताएका छन्। निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्