कलंकी—कोटेश्वर सडक,चार वर्षमा बल्ल आधा काम



सुरेश तामाङ, काठमाडौं

निर्माण थालेको ४ वर्ष बित्दा पनि कोटेश्वर–कलंकी सडक खण्डको बल्ल आधा काम सकिएको छ। काठमाडौं चक्रपथ सुधार योजनाले जनाएअनुसार सो सडकको भौतिक प्रगति ५० प्रतिशत सकिएको हो।

योजनाका प्रमुख ज्ञानेन्द्र झाले देशमा भएका प्रमुख घटनाहरू भूकम्प तथा नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताउनुभयो। तर, विशेष परिस्थितिका बीच पनि काम भइरहेको उहाँले बताउनुभयो।

मुलुकमा भएका ती घटनाहरूले निर्माणको जिम्मा पाएका कम्पनीले समेत काम गर्न सकेनन्। चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार हुन लागेको सो सडकमा चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले काम गरिरहेको छ।

सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख अनुमानित नेपाली रकम खर्च हुँदै छ। सन् २०१३ को सेप्टेम्बर १३ मा निर्माण शुरू भएकोमा निर्माण सन् २०१८ जुलाई ३१ भित्र सकिने योजनाले जनाएको छ।

१० दशमलव ३९ किमि दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो।

योजनाले असार मसान्तसम्म ५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखेको योजना प्रमुख झाले बताउनुभयो। लक्ष्य हासिल गर्न योजनाले हाल ललितपुरको ग्वार्काे, सातदोबाटो र महालक्ष्मीस्थानका दुईतर्फको सडक खण्डमा सर्फेस ड्रेसिङ गरिरहेको छ भने आसफल्ट कंक्रिट राख्ने तयारी गरेको छ।

सडकमा सर्फेस ड्रेसिङ गरेर आसफल्ट कंक्रिट राखेपछि पूर्णरूपमा सवारी गुडाउन तयारी अवस्थामा पुग्छ। तर, डे«सिङ गरिसकेका खण्डमा आसफल्ट कंक्रिट राख्न प्रिमन्सुनको झरीले गर्दा रोकिएको योजनाका इन्जिनियर रमेश दृष्टिले बताउनुभयो।
उहाँका अनुसार १ दिनको झरीले गर्दा ३ दिनसम्म असर गर्ने भएकाले ढिलाइ भइरहेको छ। तर, पनि निर्माण पक्षले इक्विपमेन्ट, जनशक्तिलगायत भरपुर प्रयोग गरेर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको इन्जिनियर दृष्टिले बताउनुभयो।

त्यस्तै, योजनाले यस सडक खण्डका विभिन्न स्थानहरूमा चारवटा आकाशे पुलहरूसमेत बनाइरहेको छ भने पुलमा ९५ प्रतिशत काम सम्पन्न भएको योजनाले जनायो। योजनाको काममा सडक विभाग, डिभिजन सडक कार्यालय, नेपाल टेलिकमलगायतको सहयोग रहे पनि बिजुलीका पोल समयमै सार्न नसक्दा निर्माण पक्षको कामलाई समस्या भएको छ।

हाल बल्खु सडक खण्डको १४ सय मिटरमा बिजुलीको पोल सार्नुपर्ने छ। त्यस्तै नख्खु दोबाटो र चापागाउँ दोबाटोमा रहेको हाइटेन्सन लाइन सार्न ढिलाइ भइरहेको छ। समयमै काम सम्पन्न गर्न रातदिन कामदारहरू फिल्डमा खटिएका छन् भने निर्माणका लागि चाहिने कच्चा पदार्थको पनि सहज आपूर्ति भइरहेको योजनाले जनाएको छ।

हाल दिनको ४ सय घनमिटर सामग्री उत्पादन भइरहेको छ। निर्माणका लागि चाहिने सामग्री भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गामा भण्डारण गरी राखिएको छ।

त्यस्तै कलंकीमा बनिरहेको अन्डरपासको काम भने ३० प्रतिशत सम्पन्न भएको छ। असारसम्म ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ। हाल अन्डरपासमा रिटेनिङ वाल, पाइलिङ र पुलको स्ल्याब बनाउने काम भइरहेको योजनाले जनाएको छ।

६२ मिटरको चौडाइमा निर्माण हुन लागेको उक्त सडकको मेनलेन १५ मिटर, ६ह्६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे सात मिटर दायाँबायाँ ट्र्याक सर्भिस र अन्य स्थान पर्खालले ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्