आफूखुसी स्थानीय सरकार घोषणा



अरू चुनावमा, विप्लव माओवादीको अर्कै धन्दा

प्रशान्त वली, काठमाडौं

मुलुकका प्रमुख राजनीतिक पार्टीहरू निर्वाचनमार्फत् स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका २ सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ।
स्थानीय निकायका चुनाव भएका स्थानहरूमा उनीहरूकै भाषामा स्थानीय जनसरकारका रूपमा जनपरिषद् घोषणा गरिएको हो।

अहिले सम्म २ सयवटा स्थानमा जनपरिषद् घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ।

जनपरिषद्ले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा सो पार्टीका एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए। जनपरिषद्ले जनताका स्थानीय काम, विकास निर्माण र जनताका मुद्दा मामिलामा न्याय दिने काम गर्ने बताइएको छ।

सरकारले गठन गरेको स्थानीय निकाय जनताको पक्षमा नभएको भन्दै प्रत्येक गाउँदेखि नगरपालिकासम्म जनसत्ता गठन कार्यलाई तीव्र पारिएको विशेष स्रोतले बताएको छ। पहिलो चरणको निर्वाचन खारेज अभियानका क्रममा १ सय ६५ जना कार्यकर्ता जेलमा राखेर राज्य पक्षले सार्वजनीक मुद्दा चलाएको सो पार्टीको आरोप रहेको छ।

अहिलेसम्म देशभरका २ सय स्थानमा जनपरिषद् गठन भइसकेको र जनतालाई केही अप्ठेरो परेमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने एक नेताले दाबी गरे। यसैबीच दोस्रो चरणको निर्वाचन खारेजीको अभियान शुरू भइसकेको भन्दै निर्वाचनको भण्डाफोरका लागि कार्यकर्ता प्रत्येक जिल्लामा खटिइसकेको पार्टीका ती नेताले बताए।

एकीकृत जनक्रान्तिको नारा लिँदै विप्लव माओवादीको थवाङमा सम्पन्न भएको महाधिवेशनले निर्वाचन खारेजीको नीति अवलम्बन गरेको थियो। जनपरिषद्को केन्द्रीय प्रमुखमा सन्तोष बुढामगर रहेको सो पार्टीले जनाएको छ। अन्यको भने नाम खुलाइएको छैन। सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई नचिनिने गरी एउटा जिल्लाबाट अर्को जिल्लामा खटाएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्