भक्तपुर नगरपालिकामा नेमकिपाको एकलौटी जीत



पुष्कर बुढाथाकी
भक्तपुर ,(नेस) ।
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले एकलौटी जीत हासिल गरेको छ । शायद नगरपालिकामा सत प्रतिशत जित हासिल गर्ने पार्टी देशभरमै यहि एक हुन सक्छ ।

भक्तपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाल मजदुर किसान पार्टीले भारी मतको अन्तरले विजय प्राप्त गरेको छ । मेयरमा नेमकिपाका सुनिल प्रजापतिले २५ हजार ५ सय ६८ र उपमेयरमा रजनी जोशी २५ हजार ६ सय ५८ मतले विजयी भएका हुन् ।

उहाँहरुको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम प्रसाद कासुला र गंगा लक्ष्मी अवाल रहेका छन् । कासलाले ६ हजार ५ सय ३२ र अवालले ६ हजार ५ सय ४९ मत पाउनु भएको छ। विगतमा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव, सांसद हुदै प्रजापति अहिले भक्तपुर नगरपालिकाको नगर प्रमुखमा विजयी हुनु भएको छ । ख्पव ईन्जिनियरिङ्ग कलेजको उपप्राचार्य पदबाट राजीनामा दिएर आउनु भएकी जोशी उपप्रमुख हुनुभएको छ ।

यस्तै, नगरपालिकाको १० वटा वडामा नेमकिपाको पुरै प्यानल विजयी भएका छन् । वडा नं. १ मा श्यामकृष्ण खत्री, वडा नं. २ मा हरिप्रसाद बासुकला, वडा नं. ३ मा राजकृष्ण गोरा, वडा नं. ४ मा कुमार चवाल, वडा नं. ५ मा प्रेमगोपाल कर्माचार्य, वडा नं. ६ मा हरिराम सुवाल, वडा नं. ७ उकेश कवां, वडा नं. ८ मा महेन्द्र खायमली, वडा नं. ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौमिखाको पुरै प्यानल अत्याधिक मतले विजयी भएका छन् ।
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नगरप्रमुखदेखि सबै वडामा विजयी हासिल गरेको छ । २० बर्षपछि बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाले एकलौटी जीत हासिल गरेको हो ।

कूल ५२ हजार ९३० मतदाता संख्या रहेको यस नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो ।भक्तपुर नगरपालिकाको निर्वाचन र मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा जिल्लामै सबैभन्दा पहिला सकिएको निर्वाचन कार्यालयले बताएको छ ।

जिल्लामा रहेको चारवटा नगरपालिकामध्ये सुर्यबिवनायक, मध्यपुरथिमी र चाँगुनारायण नगरपालिकाको मत गणना चलिरहेको छ ।अहिलेसम्मको मत परिणामलाई हेर्दा मध्यपुरको मेयरमा एमाले र सुर्यविनायकमा काग्रेस अग्रस्थानमा रहेका छन् । सुर्यबिनायकमा उपमेयरमा एमालेले र मध्यपुरको उपमेयरमा कांग्रेसले नेतृत्व गरिरहेको छ । यसैगरी चाँगुनारायणमा मेयरमा नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा छ । यहाँ नेमकिपा र राप्रपाले पनि राम्रै प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैगरी अहिले सम्म भक्तपुर जिल्लाका ४ नगरपालिकामा रहेका ३८ वडा मध्य ९ वटा वडामा कांग्रेस र ७ वटा वडामा एमालेले जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्