चुक्ता पुँजी १० गुणाले बढ्यो



काठमाडौं (नेस)
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ लाई संशोधन गरेको छ । बोर्डले दलाल व्यवसायमा सुधार गर्न भन्दै धितोपत्र दलाल सम्बन्धि नियमावलीमा पहिलो पटक संशोधन गरेको हो ।

दलाल व्यवसायीले कायम गर्नुपर्ने साविकको २० लाख रुपियाँ चुक्ता पुँजीलाई दश गुणाले बढाएर २ करोड रुपियाँ पुर्याइएको छ । मुल नियमावलीको अनुसुची ९ मा संशोधन गर्दै चुक्ता पुँजीको दायरा २ करोड पुर्याएको हो ।

धितोपत्र दलाल व्यवसायीको देशव्यापी शाखा विस्तारलाई सहज बनाएर त्यसमा अन्र्तिर्नहित जोखिम व्यवस्थापन गर्न पुँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा सो नियमावलीमा संशोधन गरिएको बोर्डले जनाएको छ । बोर्डले नियमावलीमा आफ्नो स्वीकृति लिएर मात्रै शाखा कार्यालय खोल्ने सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने जनाएको छ ।

दलाल कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । दलालको शाखा कार्यालयको हकमा वोर्डले यस्ता कर्मचारी तोक्न सक्ने व्यवस्था समेत नयाँ संशोधित नियमावलीमा गरिएको छ ।

यसरी संशोधित व्यवस्था अनुसार बोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै धितोपत्र व्यवसायको जोखिम न्युनीकरण गर्दै लौजाने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्