‘खनीज खानी उत्खननका लागि ग्लोबल टेण्डर’



काठमाडौं, (नेस)
उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुक भित्रै पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ।

शुक्रबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सबै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताउनु भएको हो । पहिलो चरणमा प्राविधिक र दोस्रो चरणमा आर्थिक टेण्डर आह्वान गर्ने र पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई कामको जीम्मा दिईने उहाँले बताउनुभयो ।

उपलब्ध खनीज सम्पदाको दिगो, विवेशपुर्ण यथोचित उपयोग गरेर मुलुको अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै हालै मन्त्री परिषदले राष्ट्रिय खनीज नीति पारीत गरेको छ । उक्त नीतिमा खनीज तथा पेट्रोलियम उत्खननलाई प्राथमिकतामा राखेको छ । देशको आर्थिक विकासमा खनिज पदार्थको महत्वपूर्ण योगदान रहने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीले बताउनु भयो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत जानकारी दिनु भयो । नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्