सिन्डी सुई , बीबीसी न्युज , ताइपेइ

सन् १९८८ मा ताइवान आफ्नो पहिलो आणविक बम बनाउन दौडधुप गरिरहेको थियो। तर एकजना सैनिक वैज्ञानिकले अमेरिका भागेर सो गोप्य योजना चुहाइदिएपछि ताइवानले बम बनाउन सकेन। देशद्रोही ठानिएका ती चांग सियन यी नामक वैज्ञानिक भने धोका दिएर पनि आफ्नो राष्ट्रलाई आफूले जोगाएको भनी अझै गौरव गर्छन्।

अमेरिकाको इदाहो स्थित आफ्नो निवासमा ७३ वर्षीय चांगले आफ्नो त्यतिबेलाको कार्यप्रति कुनै पश्चाताप नरहेको र अझै सकेको खण्डमा त्यस्तै कार्य बारम्बार दोहोर्याउने कुरा शान्त श्वरमा बताएका छन्। पूर्व कणैल उनी सन् १९८८ मा भागेर अमेरिका पुगेदेखि त्यहीं बस्दै आएका छन्। अमेरिका र ताइवानबीच सुमधुर सम्बन्ध रहे तापनि ताइवान सरकारले आफ्ना वैज्ञानिकहरूलाई गोप्य तरिकाले आणविक बम बनाउन आदेश दिएको थियो। साठीको दशकदेखि नै आफ्नो शत्रु चीनको कम्युनिस्ट सरकारले आणविक हातहतियार बनाउँदै गरेकाले ताइवान सन्त्रसित भएको थियो।

सन् १९४९ को चीनको गृहयुद्धपछि ताइवान चीनबाट छुटिएको थियो। अझैसम्म ताइवानलाई आफ्नै टुक्रिएको एउटा प्रान्त ठान्ने चीनले आवश्यक परेको खण्डमा बलपूर्वक भए पनि यस टापूलाई आफ्नो भू–भागमा गाभ्ने विचार गरिरहेको छ। त्यतिबेला ताइवानको नेतृत्व पनि अनिश्चित स्थितिमा रहेको थियो। राष्ट्रपति चियांग चिंग कुओ मर्दै थिए। अमेरिकाले निडर स्वभावका जनरल हाउ पेइसुनलाई उनको उत्तराधिकारी ठान्दै थिए।

अमेरिका ताइवानको आणविकीकरण हुने संभावनाबाट निकै चिन्तित थियो। अमेरिका सो क्षेत्रमा हातहतियारको होडबाजी रोक्न चाहन्थ्यो। त्यसैले अमेरिकाले चांगलाई गोप्य रूपमा ताइवानको आणविक कार्यक्रम रोक्न प्रयोग गर्यो। ८० दशकको शुरूमा अमेरिकी केन्द्रीय अनुसन्धान निकाय ( सीआईए) चांगलाई आफ्नो हातमा लिँदा उनी ताइवानको आणविक हतियार कार्यक्रमका लागि जिम्मेवार इन्स्टिच्युट अफ न्युक्लियर इनर्जी रिसर्चका उपनिर्देशक थिए। ताइवानका एक प्रमुख आणविक वैज्ञानिक भएको नाताले पनि उनले राम्रो तलव र सुविधा तथा इज्जत पाएका थिए। चांग भन्छन्– ‘तर पूर्वसोभियत संघमा १९८६ मा भयानक चेर्नोविल आणविक दुर्घटना भएको सम्झेर आफ्नो देशमा आणविक हतियार हुनहुन्छ वा हुँदैन भन्ने प्रश्न मेरो दिमागमा आयो।’

उनलाई अमेरिकी अधिकारीहरूले आणविक कार्यक्रम रोक्नाले शान्ति कायम रहने र मुख्यभूमि चीन र ताइवान दुवैका लागि हितकर हुने कुराबाट विश्वस्त पारे। चांग भन्छन्– ‘तिनीहरूले मेरो मन जित्न सफल भए। त्योभन्दा पनि अर्को ठूलो कुरा के भने तिनीहरूले मेरो र मेरा परिवारको सुरक्षाको ग्यारेन्टि लिए। फलस्वरूप म तिनीहरूलाई सघाउन तयार भएँ। त्यतिबेला कुनै पनि सैनिक अधिकारीले बिनाअनुमति ताइवान छोड्न मिल्दैन थियो।

त्यसैले चांगले सबैभन्दा पहिले बिदा मनाउने बहानामा आफ्नी पत्नी र ३ जना साना सन्तानलाई जापान पठाए। उनकी पत्नी बेटी भन्छिन्– ‘मलाई मेरो पतिको दोहोरो जीवनबारे केही पनि थाहा थिएन। हामीले केवल उनले अमेरिकामा जागिर पाउन सक्ने संभावना रहेको बारे मात्र कुरा गरेका थियौं उनले त मलाई ताइवान छोड्न कतिको सजिलो हुन्छ भनी जाँच्न मात्र चाहेको र कति सामान लान मिल्छ हेर्न चाहेको बताएका थिए।

‘बेटी १९८८ को ८ जनवरीमा आफ्ना बच्चाहरूसँग जापानको राजधानी टोकियोको डिस्नील्यान्ड हेर्न रमाउँदै गइन्। त्यसको भोलिपल्ट चांग सीआईएले उपलब्ध गराएको नक्कली पासपोर्ट लिएर अमेरिका उडे। त्यतिबेला उनीसँग अलिकति पैसा र केही निजी सामानबाहेक केही थिएन। उनले आफ्नो साथमा कुनै महत्वपूर्ण वा संवेदनशील वस्तु लिएर गएको थिएन। त्यहिबेला टोकियोमा एकजना महिलाले आफूलाई एउटा पत्र थमाएपछि बल्ल बेटीले आफ्नो पति सीआईए जासुस भएको थाहा पाइन्।

सन् १९९० मा चांग परिवार स्थायी रूपमा इदाहोमा बसोबास गर्न थाले। चांगले अमेरिकी सरकारको इदाहो राष्ट्रिय प्रयोगशाालामा परामर्श इन्जिनियर र वैज्ञानिकको हैंसियतले काम गर्न थाले। उनले सो स्थानबाट सन् २०१३ मा अवकाश प्राप्त गरे। बेटी सम्झिन्छिन् ,‘मलाई अब कहिल्यै ताइवान जान नसक्ने बताउँदै जापानबाट अमेरिकातर्फ जान भनियो। कहिल्यै ताइवान फर्कन नसकिने सम्झिएर म रुन थालेँ।’

LEAVE A REPLY