पेनकिलरको कारण हृदयाघात हुन सक्ने



लन्डन, (एजेन्सी)
स्वास्थसम्बन्धी हालै गरिएको एक अध्ययनले पीडा कम पार्ने इबुप्रोफेनजस्ता सामान्य पेन किलरको हाइ डोज र हृदयाघातबीच सम्बन्ध हुनुपर्ने संभावना देखाएको छ।

पछिल्लो अनुसनधानबाट ती औषधि प्रयोग गरेको पहिलो ३० दिनभित्र हृदयाघातको खतरा बढिहुने गरेको जनाएको छ। तर वैज्ञानिकहरूले हालसम्म पत्ता लगाएको तथ्यले शतप्रतिशत ती औषधि चक्कीको कारणले मात्र सो खतरा हुने दाबी गर्न नसकेको र यसमा अन्य कारणहरू पनि हुनसक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक टोलिले यस अध्यननको क्रममा ४ लाख ४६ हजार ७ सय ६३ व्यक्तिमाथि मुटुको समस्या शुरू हुँदाको तथ्यांकमाथि विश्लेषण गरेको थियो। तिनीहरूले डाक्टरले नन–स्टेरोइड पेन किलर औषधिहरूजस्तै इबुप्रोफेन, डिक्लोफनक, सेलेकोसिब र नाप्रोक्सेन सिफारिश गरिएका बिरामीहरूमाथि अध्ययन केन्द्रित गरेका थिए।

क्यानाडा, फिनल्यान्ड र संयुक्त अधिराज्यबाट प्राप्त यससम्बन्धी तथ्यांकको आधारमा वैज्ञानिकहरूले यस्तो पेन किलर सेवन गरेको पहिलो सातामा पनि हृदयाघात हुने त्यतिकै खतरा रहेको बताएका छन्। दैनिक १ हजार २ सय मिलिग्राम सेवन गर्नेहरूमा यो खतरा हुने बताइएको छ।

दि ओपन युनिभर्सिटीका तथ्यांक विभागका प्राध्यापक केभिन म्याकोनवेले हृदयाघात र पेन किलरबीच सम्बन्ध रहे तापनि यस अध्ययनको क्रममा धुमपान , मद्यपान र मोटोपनाको सम्बन्ध नजोडिएकाले यसको अन्य कारण पनि हुनसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्