मत परिणामको सूचनामा समस्या, कसरी आइरहेका छन् थरीथरीका तथ्यांक ?



प्रशान्त वली
पहिलो चरणको स्थानीय निकाय निर्वाचनको मतगणना नतिजा आइरहँदा त्यसको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।

गणना हुँदै गरेको मतपरिणाम सञ्चारमाध्यम नै पिच्छे फरक–फरक आउने मात्रै होइन बिजेताको तथ्यांकसमेत फरक आउँदा पाठक तथा स्रोताहरु अन्यौलमा परेको पाइएको छ। तस्वीरमा टोखा नगरपालिकाको परिणाम घोषणा भइसकेपछि मुलुकका तीन चर्चित अनलाइनमा राखिएको तथ्यांक फरक—फरक रहेको छ। यी तथ्यांकलाई हेर्दा जनस्तरमा कसलाई विश्वास गर्ने भन्ने प्रश्नसमेत उठ्न पुगेको छ। निर्वाचन आयोगले एकद्वार नीतिअनुसार सूचना सम्प्रेषण नगरेकाले त यस्तो भएको होइन भन्ने प्रश्नसमेत उठिरहेको छ।

एउटै उम्मेदवारले पाएको मतपरिणाम एकै समयमा फरक–फरक आउँदा सञ्चारमाध्यमको विश्वस्नीयतामाथि समेत प्रश्न उब्जेको छ। यो अवस्थाले गर्दा आममानिस द्विविधामा परेका छन्। केहीले नेपाल समाचारपत्रसँगको कुराकानीमा भने– ‘निर्वाचनसम्बन्धी अपडेट त हेर्नै मन लाग्न छोडिसक्यो।’

आयोगले परिणाम आधिकारिक रूपमा सार्वजनिक नगरिदिने र उम्मेदवारका प्रतिनिधिसँग सञ्चारमाध्यम भर पर्नुपर्ने अवस्थाले गर्दा समेत वास्तविक सूचना के हो भन्ने अन्योल उत्पन्न भएको हो। निर्वाचन आयोगले केन्द्रिकृततवरबाट नतिजा बाहिर नल्याउँदा आधिकारिक नतिजा समय अनुकूल नआएको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नतिजामा आधिकारिकता नआउनुको मुख्य कमजोरी निर्वाचन आयोगको हो। कमसेकम आयोगले समयसमयमा नतिजा दिने व्यवस्था मिलाएको भए यस्तो परिस्थिति सृजना हुने थिएन। पत्रकारहरुले क्रस चेक गरेर नतिजा बाहिर ल्याउँथे। तर, त्यसो हुन सकेन। अहिले जसरी मनलाग्दी तवरबाट निर्वाचनको नतिजा बाहिर आइरहेको छ। यो अव्यवहारिक प्रकृतिको छ।’

पत्रकारहरुले स्रोत उल्लेख गरेर मत परिणाम बाहिर ल्याउनुपर्ने भए पनि त्यसो हुन नसकेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँलेले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘दलका प्रतिनिधिहरुले भनेको भरमा पत्रकारहरुले नतिजा बाहिर ल्याइरहेका छन्। जुन असान्दर्भिक र अव्यवहारिक छ। मनलाग्दी समाचार बनाउँदा पत्रकारहरुलाई नागरिकले हेर्ने दृष्टिकोणमाथिनै प्रश्न उठ्ने बेला आएको छ। यस विषयमा सम्बन्धित सञ्चार माध्यमका पत्रकारहरु संवेदनशील हुनैपर्छ।’

अमुक पार्टीले चलाएका केही सञ्चारमाध्यमले आफ्नो पार्टीले अग्रता लिएको बेला प्रभाव पार्ने वातावरण बनाउन समाचार सम्प्रेषण गर्ने गरेको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताउनुभयो। सञ्चारमाध्यमबाट निर्वाचनको मतपरिणाम फरक–फरक आउँदा केही सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको पेशागत निष्पक्षता नै गुमेको वरिष्ठ पत्रकार अधिकारीको भनाइ छ। उहाँले भन्नुभयो– ‘परिणाम अध्यावधिक जानकारी गराएर सेवा गर्ने हो भने आधिकारिक निकाय निर्वाचन आयोग हो। आयोगले तोकेका कर्मचारीको नाम समाचारमा उद्धृत गर्न आवश्यक छ। मतपरिणाम अपडेट गराउँदा कति बजे हो समय तोकेर दिनुपर्छ। जसले गर्दा मतपरिणाम तुलना गर्न पनि सजिलो हुन्छ। निर्वाचन आयोगले कमजोरी महशुस गरी आगामी चरणको चुनाव गराउँदा सूचना प्रविधिलाई ध्यान दिनुपर्ने देखिन्छ।’


ध्रुवहरि अधिकारीवरिष्ठ पत्रकार

परिणाम अध्यावधिक जानकारी गराएर सेवा गर्ने हो भने आधिकारिक निकाय निर्वाचन आयोग हो। आयोगले तोकेका कर्मचारीको नाम समाचारमा उद्धृत गर्न आवश्यक छ। मतपरिणाम अपडेट गराउँदा कति बजे हो समय तोकेर दिनुपर्छ। जसले गर्दा मतपरिणाम तुलना गर्न पनि सजिलो हुन्छ। निर्वाचन आयोगले कमजोरी महशुस गरी आगामी चरणको चुनाव गराउँदा सूचना प्रविधिलाई ध्यान दिनुपर्ने देखिन्छ।


शिव गाउँले
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष

नतिजामा आधिकारिकता नआउनुको मुख्य कमजोरी निर्वाचन आयोगको हो। कमसेकम आयोगले समयसमयमा नतिजा दिने व्यवस्था मिलाएको भए यस्तो परिस्थिति सृजना हुने थिएन। पत्रकारहरुले क्रस चेक गरेर नतिजा बाहिर ल्याउँथे। तर, त्यसो हुन सकेन। अहिले जसरी मनलाग्दी तवरबाट निर्वाचनको नतिजा बाहिर आइरहेको छ, यो अव्यवहारिक प्रकृतिको छ।’

 



नारायणप्रसाद शर्मा

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष

सत्य–तथ्यलाई ध्यानमा राख्नुपर्दछ। ढिलो मतपरिणाम सार्वजनिक गरे पनि केही फरक पर्दैन। तर, तथ्यपूर्ण कुरा आएपछि नतिजा सार्वजनिक गर्न आवश्यक रहेको छ। निर्वाचन आयोगले निश्चित समयमा नतिजा उपलब्ध गराउनुपर्छ। कसैलाई खसाल्ने र कसैलाई पछार्ने गरी उम्मेदवारको प्रतिनिधिको भरमा नतिजा बाहिर ल्याउनुहुँदैन।


 

सूर्यप्रसाद शर्मा
प्रवक्ता, निर्वाचन आयोग

सबै जिल्लाका निर्वाचन कार्यालयहरुबाट मतपरिणाम आउने क्रम जारी छ। ४० हजार जनासम्म त आयोगको वब साइटमा राख्ने प्रयास गर्यांै।

तर, सम्भव भएन। अब केही दिनमै सबै स्थानको मतपरिणाम सार्वजनिक भएपछि कसले जितेको भन्ने कुरा बाहिर ल्याउँछौं।


मतपरिणाम फरक–फरक आउँदा विश्वसनीयतामा खडेरी लागेको बताउँदै पत्रकारहरुले पेसागत इमानदारीतालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्ने वरिष्ठ पत्रकार अधिकारीको भनाइ छ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले मतपरिणाम दिने पत्रकारहरुको कर्तव्य भए पनि सत्य–तथ्यलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो। ढिलो मतपरिणाम सार्वजनिक गरे पनि केही फरक नपर्ने तर तथ्यपूर्ण कुरा आएपछि नतिजा सार्वजनिक गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। वरिष्ठ पत्रकार शर्माले भन्नुभयो– ‘निर्वाचन आयोगले निश्चित समयमा नतिजा उपलब्ध गराउनुपर्छ। कसैलाई खसाल्ने र कसैलाई पछार्ने गरी उम्मेदवारको प्रतिनिधिको भरमा नतिजा बाहिर ल्याउनुहँुदैन।’ पार्टीले प्रवक्ता तोक्ने समय आइसकेको भन्दै पत्रकारहरुले राजनीति गर्दा पत्रकारितामा विकृति भित्रिएको वरिष्ठ पत्रकार शर्माको भनाइ छ।

निर्वाचन आयोगले मतपरिणामको अन्तिम नतिजा आएपछि मात्रै आयोगका तर्फबाट आधिकारिक मतपरिणाम सार्वजनिक गर्ने बताएको छ। सञ्चारमाध्यमबाट आएको सूचनालाई नै आफूहरुले आधिकारिक मानेको भन्दै सत्य सूचना सार्वजनिक गर्न आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पत्रकारहरुलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘सबै जिल्लाका निर्वाचन कार्यालयहरुबाट मतपरिणाम आउने क्रम जारी छ। ४० हजार जनासम्म त आयोगको वेव साइटमा राख्ने प्रयास गर्यौं। तर, सम्भव भएन। अब केही दिनमै सबै स्थानको मतपरिणाम सार्वजनिक भएपछि कसले जितेको भन्ने कुरा बाहिर ल्याउँछौं।’

प्रतिक्रिया दिनुहोस्