एमालेको अग्रता कायमै



काठमाडौं, (नेस)
गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निकाय निर्वाचनको चार महानगरपालिका र केही नगरपालिकाबाहेक अन्य स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

पछिल्लो घोषित परिणामअनुसार नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ३ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ९६ स्थानमा विजय हासिल गरेको छ। तेस्रो शक्तिको रुपमा नेकपा माओवादीले ४५ स्थानमा विजय हासिल गरेको छ। यसपटकको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको भने लज्जाजनक हार भएको छ।

प्रदेश नम्बर ३, ४ र ६ गरी २ सय ८३ स्थानका लागि भएको निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा देखापरेको छ भने कांग्रेस एमालेलाई पछ्याउँदै अगाडि बढेको छ। प्रदेश नम्बर ३ मा एमाले पहिलो शक्तिका रुपमा देखापरेको छ भने प्रदेश नम्बर ४ मा कांग्रेस पहिलो शक्तिको रुपमा देखापरेको छ।

प्रदेश नम्बर ६ मा भने नेकपा माओवादी केन्द्रले आफ्नो उपस्थिति मजबुत बनाएको छ। हालसम्म २ सय ४४ स्थानको परिणाम सार्वजनिक भएको छ भने बाँकी ३९ स्थानको परिणाम आउने क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्