भरतपुरको मतगणना रोकियो



चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि साँझ ७ बजेपछि मतगणना कार्य रोकिएको छ ।

माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहालले महानगरपालिका–९ मा मतगणनाका क्रममा आफ्नो मत गडबड गरिएपछि विरोध गरेको बताउनुभयो । उहाँले यसअघि गणना गरिएका वडा नं. ४ र ७ मा पनि गडबड भएको भन्दै नसच्याएसम्म गणना अघि बढ्न नहुने बताउनुभयो ।

प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रसँग मिलेको नेपाली कांग्रेसले पनि गणनामा शङ्का लागेको भन्दै विरोध जनाएको छ ।

यता सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले गणनामा कुनै त्रुटि नरहेको बताउनुभयो । कांग्रेस र माओवादीले गणनास्थल र बाहिर नाराबाजी गरेका थिए । भरतपुर महानगरपालिका–१ देखि ९ सम्मको मतगणना सम्पन्न भएको छ । वडा नं. १० को गणना हुँदै गर्दा रोकिएको हो । हालसम्म नेकपा (एमाले)ले पाँच वडा र नेपाली कांग्रेसले चार वडामा विजयी हासिल गरेका छन् ।

प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्