चलाख सरकार ?



चुनाव र अनेक खाले चलखेल भइरहेका बेलामा मन्त्रिपरिषद्को बिहीबारको बैठकले टीकापुर घटनामा ड्युटीमा रहेका प्रहरी अधिकृतको हत्यासम्बन्धी मुद्दासमेत फिर्ता लिने निर्णय गरेको सुन्नमा आएको छ। तर, खुलेर यसो नभनिए पनि थारुहट आन्दोलन र मधेस आन्दोलन नामबाट त्यसलाई ढाकछोप गर्ने चलाखी गरेको पाइएको छ।

मान्छे सबै मतपरिणाम–मतपरिणाम भन्दै हिँडिरहेको बेलामा सरकारले यस्तो गम्भीर निर्णय गरेको देख्दा धरहरालाई पनि हाम्रो सरकार निकै बाठो रहेछ भन्ने लागेको छ है पाठकवृन्द।

ड्युटीमा रहेका व्यक्तिलाई लाठी र भाला रोपेर हत्या गरिएको घटनाको मुद्दासमेत फिर्ता लिइएपछि आगामी दिनमा प्रहरी अधिकारीहरूले यस्ता घटनामा कसरी ड्युटी पूरा गर्लान् कुरा बुझ्न झन् कठिन भएको छ। हुन त नवप्रवेशी उपप्रम विजयकुमार गच्छदार (बिकुग) आफ्नो यही एजेन्डा पूरा गर्न सरकारमा जानुभएको धरहराले पहिला पनि सुनेको हो।

हिजोको यो निर्णय हेर्दा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना पुत्रलाई युवराज घोषणा गर्न छानेको समयको धेरैलाई याद गराएको धरहरा वरपर चर्चा भएको थियो। तर, त्यतिबेला विकल्प पनि थिएन। ‘अहिलेका छोटे महाराजाहरूले विकल्प हुँदाहुँदै पनि त्यही बाटो रोजे’ –धरहराको छेउमै एक जनाले भन्दै गरेको सुनियो। कति गन्थन सुन्नु भनेर धरहराले चाहिँ आफ्नो दूरबिन अन्यत्रै मोड्नु नै ठीक ठान्यो।

प्रतिक्रिया दिनुहोस्