नेपाल आईटीएफ च्याम्पियनसिपमा छनोट



आरभ सम्राट हाडा सट फर्काउने क्रममा। तस्वीरः उजोल डंगोल

नेपाल समाचारपत्र
काठमाडौं

नेपालको ब्वाइज टेनिस टोली नोभेम्बरमा काजाकस्तानमा हुने आईटीएफ एसियाली यु–१२ च्याम्पियनसिपमा छनोट भएको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा भारतलाई २–१ ले हराएर नेपाली जुनियर टेनिस टोलीले काजाकस्तानमा खेल्ने पक्का गरेको हो। प्रतियोगितामा बलियो ठानिएको भारतविरुद्ध जित हात पार्न नेपालका आरभ सम्राट हाडा र आर्यन गिरीको प्रदर्शन प्रमुख रह्यो। पहिलो सिंगल्स खेलमा आरभले भारतका बालाजी निथिस लथा नल्लुसामीलाई ६–२, ६–३ सेटले सहजै हराएका थिए। तर, दोस्रो सिंगल्स खेलमा भने आर्यन भारतीय खेलाडी आयुषमान अर्जेरियासँग ६–१, ६–० ले हारेका थिए। १–१ बराबरी भएपछि डबल्समा आरभ र आर्यनको जोडीले भारतका आयुषमान र कृषाङ रघुवंशीलाई ७–५, ६–४ ले हराएर आइटीएफ च्याम्पियनसिपमा स्थान बनाएको हो।

आईटीएफको प्रावधानअनुसार फाइनल पुग्ने दुई टोलीले दक्षिण एसियालीको तर्फबाट आईटीएफ च्याम्पियनसिपमा खेल्न पाउनेछन्। नेपालले बंगलादेशसँग फाइनल खेल खेल्नेछ। हिजै भएको अर्को खेलमा बंगलादेशले भुटानलाई ३–० सेटले ह्वाइटवास गरेको थियो।

‘सोचेभन्दा राम्रो नतिजा आएकोमा खुसी छु। भारत बलियो प्रतिद्वन्द्वी हो। घरेलु कोर्ट र खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित सम्भव भयो,’ नेपाली ब्वाइज टिमका प्रशिक्षक कृष्णराज घलेले भने– ‘अब फाइनलमा हाम्रो प्रतिद्वन्द्वी बंगलादेश हो। बंगलादेश शारीरिकरूपमा बलियो भए पनि प्राविधिक पक्षमा हाम्रो खेलाडी राम्रा छन्। फाइनलमा पनि केटाहरूले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु।’
छनोट आयोजक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले खेलाडीको जित नेपाली लनटेनिसका लागि सुखद दिन भएको बताउँदै फाइनलमा पनि जितका लागि खेलाडीलाई शुभकामना दिइन्।

त्यस्तै छनोट च्याम्पियनसिपअन्तर्गत गल्र्सतर्फ भने नेपाली महिला जुनियर टोली पराजित भएर काजाकस्तान जाने आशा समाप्त भएको थियो। फाइनलमा श्रीलंका र भारत पुगेका थिए। जसमा श्रीलंकाले नेपाल तथा भारतले बंगलादेशलाई समान ३–० ले पन्छाएका थिए। नेपालबाट सिंगल्समा सर्भानी श्रेष्ठ र इशाश्री शाह तथा डबल्समा इशाश्री र सुभांगीलक्ष्मी शाहले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्