फोक्स न्युजका संस्थापकको निधन



वासिङटन, (एजेन्सी)
फोक्स न्युजका संस्थापक तथा पूर्वअध्यक्ष रोजर आइल्सको ७७ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक सूत्रले बिहीबार जनाएको छ। उनकी पत्नी एलिजावेथले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई यस घटनाबाट गहिरो चोट लागेको तथा उनी देशभक्त रहेको बताएकी छिन्।

सन् १९९६ मा स्थापना भएदेखि नै फोक्समा आबद्ध आइल्स फोक्स न्युजलाई उच्चकोटीको र अमेरिकी राजनीतिक जगत्मा निकै प्रभावकारी बनउान सफल भएका थिए। तर, गत वर्ष आफूमाथि यौन उत्पीडनको अभियोग लागेपछि उनले अध्यक्ष पद त्यागेका थिए।

त्यतिबेला उनले आफूलाई उपहासको पात्र बनाइएकाले पदबाट राजीनामा दिने बताएका थिए। कुनै समय अमेरिकाका पूर्वराष्ट्रपति रिचर्ड निक्सनको सञ्चार सल्लाहकार रहेका उनले गत वर्ष राष्ट्रपतीय चुनावको प्रचार अभियान दौरान डोनाल्ड ट्रम्पलाई पनि सघाएका थिए।

उनकी पत्नीद्वारा जारी गरिएको एक विज्ञप्तिमा लेखिएको छ– ‘५० वर्षभन्दा लामो करियरमा उनले मनोरञ्जन, राजनीति समाचार क्षेत्रमा गरेका कामले लाखौं मानिस प्रभावित हुनपुगेका थिए। हामी उनको निधनको क्षणमा पनि उनको जीवनको उत्सव मनाइरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्