उत्तर कोरिया र रसियाबीच जहाज सेवा शुरू



मस्को, (एजेन्सी)
उत्तर कोरियाको एउटा यात्रुवाहक पानी जहाज बिहीबार पहिलोपटक रसियाको भ्लादिभोस्तकस्थित सुदूरपूर्वी बन्दरगाहमा आइपुगेको रुसी अधिकारीहरूले बताएका छन्। मान्ग्योङवोङ नामक सो जहाज साताको एकपटक उक्त बन्दरगाह शहरमा आइपुग्ने र त्यसले मालसामान पनि ओसारप्रसार गर्ने बताइएको छ।
विवादास्पद आणविक र क्षेप्यास्त्र कार्यक्रम नत्यागेका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लगाउँदै आएको छ। हालै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको उक्त नाकाबन्दीलाई अटेर गर्दै लागातार क्षेप्यास्त्र परीक्षण गर्दै आएका कारण प्योङयाङ र अमेरिकाबीच तनाव चर्किएको वर्तमान अवस्थामा यो जहाज सेवा शुरू भएको हो।

एउटा चिनियाँ टुर अपरेटरले यस पहिलो जहाज सेवाका लागि केही आवश्यक कर्मचारी सहयोग गरेको छ। यस अत्याधुनिक जहाजमा रेस्टुरेन्ट, बारहरू र एउटा काराओके कक्ष पनिरहेका छन्। कम्युनिस्ट राष्ट्र उत्तर कोरिया र रसियाको भ्रमण गर्न चाहने चिनियाँ पर्यटकहरूले यसको प्रयोग गर्ने आशा गरिएको छ। इन्भेस्ट स्ट्रोइ ट्रेस्ट नामक एक रुसी कम्पनीले उत्तर कोरियाको राजिन बन्दरगाहबाट यो जहाजको सेवा शुरू गरेको हो। राजिनमा आयात–निर्यात व्यापार सञ्चालन गर्दै आएको यस कम्पनीले भियतनाम र थाइल्यान्डसम्म पनि फ्रेइट सिपिङ पनि सम्हाल्दै आएको छ।

यता जापानी विदेशमन्त्री फुमियो किसिदाले यस जहाज सेवा शुरूआत गरिएकोमा रसिया समक्ष चिन्ता व्यक्त गरेका छन्। शीतयुद्धकालदेखि नै रसियाको उत्तर कोरियासँग बलियो आर्थिक सम्बन्ध रहँदै आएको थियो। यी दुवै रानीतिक सिद्धान्तको हिसाबले पश्चिम जगत्सँग विरोधीको भूमिका निभाउँदै आएका थिए।
रुसी सरकारी दैनिक मुखपत्र रोस्सिकाया गाजेटाले यस जहाजले दैनिक आवश्यक सामानलगायत अन्य वस्तुहरूको ओसारप्रसार गर्ने र रुसी भन्सारले यसको पूर्ण नियन्त्रण र अनुगमन गर्ने जनाएको छ।

सन् १९७१ मा निर्माण गरिएको मान्ग्योङवोङ जहाजलाई गत वर्ष मात्र आधुनिकीकरण गरिएको रसियाको तास समाचार निकायले जनाएको छ। यसले अधिकतम २ सय जना यात्रु र करिब १ हजार ५ सय टन बराबरको कार्गो बोक्ने क्षमता राख्दछ।

प्रतिक्रिया दिनुहोस्