असारभित्रै विदेशी कम्पनीलाई लेखाङ्कन अनिवार्य



हेमन्त जोशी, काठमाडौं

नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा स्थापना भएका कम्पनी तथा उद्योगहरूले चालु आर्थिक वर्षको अन्तसम्ममा लेखांकन नगराए लाभांश तथा लगानी फिर्ता लैजान नदिने भएको छ।

पछिल्लो समय केही विदेशी फर्म तथा उद्योगले उद्योग विभाग र कम्पनी रजिस्टारको कार्यालय मार्फत स्वीकृति लिएपनि राष्ट्र बैंकको स्वीकृती नलिई विदेशी लगानी भित्राउने तर लेखांकन नगरेको पाईएपछि केन्द्रिय बैंकले यस्तो कदम अघि बढाएको हो। अब सेयरमा लगानीका लागि विदेशी मुद्रा भित्राउन तथा लाभांश र लगानी फिर्ता लैजान सबै विदेशी कम्पनीहरूले असार मसान्तसम्म आफ्नो लगानी लेखांकन गर्नुपर्ने छ।
केही कम्पनीले राष्ट्र बैंकसँग स्वीकृति नलिइ नेपालमा विदेशी लगानी भित्र्याउन थालेको पाईएकाले यस्तो कदम चाल्नु परेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताउनुभयो।

लेखांकन गराएपछि मात्र नेपालमा लगानी रहेका विदेशी कम्पनीहरूको आधिकारिक अभिलेख रहने हुँदा चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रूपमा लेखांकन गर्न लागिएको उहाँले बताउनुभयो। नेपाल समाचारपत्रसंग कुरा गर्दै ढुंगानाले भन्नुभयो–‘विदेशी लगानीको लेखांकन नभईकन हामीले डिभिजन पठाउन नमिल्ने, र लगानीका लागि सटही दिन नमिल्ने हुँदा अनिवार्य गरेको हाँै। यदि कुनै विदेशी कम्पनीले लेखांकन गराएनन् भने हामी उनीहरूको मुनाफा लैजान पनि रोक्का गरिदिन्छँैं।’

विदेशी कम्पनीले नेपालमा के कति लगानी भित्राए र तिनीहरूको वर्तमान अवस्था कस्तो रहेको छ भन्ने कुरा थाहा पाउन समस्या रहेको छ। उद्योग विभागले विदेशी कम्पनी स्थापनाका लागि अनुमति दिएपनि कहाँ कति लगानी ग¥यो र कस्तो अवस्थामा चलिरहेका छ भन्ने कुराको जानकारी राख्ने गरेको छैन। लगानी र मुनाफा लगायतका तथ्यांकहरू केन्द्रंीय बैंकले हेनुपर्ने भएकोले यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी कम्पनीहरूले उद्योग विभागबाट संचालनका लागि स्वीकृति लिएर लगानी भित्राए पनि त्यसको लेखांकन गर्ने गरेका छैनन्। त्यस्ता कम्पनी र उद्योगहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्मको समय दिएर लेखांकन गर्न निर्देशन दिएको हो। सो बैंकका अनुसार, विदेशी लगानीकर्ताले नेपाल विदेशी लगानीको रूपमा लगानी गर्दा सम्बन्धित नियमनकारी निकाय तथा संस्थाहरूको स्वीकृति पत्र सबैभन्दा पहिले बुझाउनु पर्छ। त्यसपछि लगानी लेखांकन गर्नका लागि संस्थाको औपचारिक निर्णयको पत्र, राष्ट्र बैंकबाट यसअघि नै विदेशी मुद्रा भित्र्याउन प्राप्त गरेको स्वीकृति पत्र पनि बुझाउनु पर्छ। उक्त पत्र नलिएका कम्पनीहरूले असार मसान्तसम्ममा लिईसक्नु पर्नेछ।

विदेशी लगानीकर्ताले नेपालमा विदेशी लगानीको रूपमा लगानी गर्न प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट प्राप्त स्वीकृत पत्र, नेपालमा लगानी कुन बैकमार्फत भित्र्याएको हो उक्त बैंकबाट जारी भएको लगानीको प्रमाणपत्र पेश गर्नुपर्छ। त्यसैगरी लगानी भित्र्याउने कम्पनी आफू कालोसुचीमा नरहेको प्रमाण, प्रबन्धपत्र तथा नियमावली, स्थायी लेखा नम्बर, ब्यवसाय दर्ता प्रमाणपत्र, अद्यावधिक कर चुक्ता गरेको प्रमाणपत्र पनि बुझाउनु पर्छ। लगानीकर्ता कम्पनीको औपचारिक निर्णय, लगानी भित्र्र्याउने संस्थाको लेखापरीक्षण भएको अद्यावधिक वित्तीय विवरण तथा लेखापरीक्षण भएको वित्तीय विवरण पनि अनिवार्य गरिएको छ।

त्यस्तै विदेशी लगानीकर्ता कम्पनीको दर्ता प्रमाणपत्र र व्यक्तिको हकमा राहदानी वा त्यस्तै प्रकृतिको पहिचान खुल्ने कागजपत्र पनि लगानी लेखांकनका लागि राष्ट्र बैंकलाई बुझाउनु पर्छ। लगानी रकम, सेयर स्वामित्व तथा लगानी संरचना परिवर्तन भएमा त्यसको विवरण पनि अद्यावधिक गराउन राष्ट्र बैंकले अनिवार्य गरेको छ। केन्द्रिय बैंकका कार्यकारी निर्देशक ढुंगानाका अनुसार विदेशी लगानीबाट प्राप्त लाभांश तथा ऋणको साँवा ब्याज भुक्तानी गर्न यसअघि राष्ट्र बैंकले बैंक विभिन्न उद्योग तथा बैंकहरूलाई दिएको सम्पूर्ण स्थायी सटही सुविधा समेत खारेज गरिएको छ। अब त्यस्तो विनिमय सटही सुविधा दिनुअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने ढुंगानाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्