भावी प्रधानसेनापतिमा थापा पक्का



काठमाडौं, (नेस)
सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीले जानकारी दिनुभयो। यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ।

बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो। पदावधि थपसँगै रथी महत आगामी १४ कात्तिकसम्म सो पदमै बहाल हुनुहुनेछ। म्याद नथपिएको भए रथीको दुईवर्षे पदावधिका कारण महतले आगामी साउन ८ मा अनिवार्य अवकास पाउनुहुने थियो।

रथी थापाको दुईवर्षे पदावधि असोज १५ मा सकिनै लाग्दा बैठकले एक वर्ष थप गर्ने निर्णय गरेको थियो।

यसले गर्दा उपरथी थापालाई भावि प्रधानसेनापति बन्ने अवसर निश्चित भएको छ। प्रधानसेनापति राजेन्द्र क्षत्रीको २०७५ भदौ २४ गते ३ वर्षे पदावधि सकिनेछ। क्षेत्रीको पदावधि सकिएलगत्तै रथी थापाले नेपाली सेनाको प्रधानसेनापतिको बागडोर सम्हाल्नुहुनेछ। उहाँले संयुक्त राष्ट्रसंघको फोर्स कमान्डारका रूपमा गोलानहाइटमा काम गरी सक्नुभएको छ।

सैनिक ऐनमा उमेर हद (५८ वर्ष) बाँकी रहेको खण्डमा प्रधानसेनापतिको सिफारिसमा सरकारले रथीको पदावधि थप गर्न सक्ने प्रावधान छ। यही ऐनको आधारमा प्रधानसेनापति क्षत्रीले दुई रथीको पदावधि थप गर्नका लागि रक्षा मन्त्रालयमार्फत् सरकार समक्ष सिफारिश गर्नुभएको बुझिएको छ।

यसअघिका प्रधानसेनापति गौरवशमशेर राणाले उमेर हद बाँकी भए पनि तत्कालीन रथी नेपाल भूषण चन्दको पदावधि थप गरिएको थिएन। प्रधानसेनापति क्षत्रीले भने दुवै रथीको पदावधि थप्नुभएको छ। यसअघि पनि सेनामा रथीहरू बालानन्द शर्मा, रघुचन्द्रबहादुर सिंह र कृष्णनारायणसिंह थापाको पदावधि थपेको इतिहास रहेको छ।

प्रतिक्रिया दिनुहोस्