“सोचेजस्तो भएन मत”



नेपाली कांग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टु·ो लगाउने भएको छ।

कांग्रेस शीर्ष नेताको हिजो बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरिएको उक्त पार्टीले जनाएको छ।

बैठकले निर्वाचनमा सबैको सहभागिताका लागि आवश्यक वातावरण बनाउन पहल लिने निर्णयसमेत गरेको छ। कांग्रेसले व्यवस्थापिका–संसदमा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागिता गराउन अन्य दलसँग परामर्श गर्नेसमेत जनाएको छ।

बैठकमा निर्वाचनको मतगणनाबाट प्राप्त भइरहेको परिणामका बारेमा समीक्षा हुनाका साथै दोस्रो चरणको निर्वाचनमा अझ प्रभावकारी रुपमा तयारी थाल्नेबारेमा समेत छलफल भएको जनाइएको छ।

बैठकमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा समेत छलफल भएको स्रोतले बताएको छ। माओवादी केन्द्रसँगको यसअघिको सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास बैठकमा व्यक्त गरिएको थियो।

कांग्रेसले हाल प्राप्त भइरहेको मतपरिणामलाई सोचेको जति राम्रो नभएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने गरी तयारी गर्न पार्टीका सबै संयन्त्र र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्