‘प्रदेश र सङ्घीय संसद्को निर्वाचन पनि समयमै हुनुपर्छ’



सुरुङ्गा (झापा), ४ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरक राख्नाले नकारात्मक असर पारेको बताउनुभएको छ ।

आज झापाको बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो –“पहिलो चरणको चुनावमा गरिएका राजनीतिक दलका तालमेलले ‘हावा’ खाएको तथा पहिलो र दोस्रो चरणको निर्वाचनको मिति बीचको दूरी लामो हुनुले नकरात्मक असर परेको छ ।”

नेता खनालले अहिलेको राजनीतिक तालमेलले कुनै प्रभाव नदेखिएकाले दोस्रो चरणको निर्वाचनका लागि को सँग कसरी तालमेल गर्ने पार्टीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ भन्नुभयो ।

स्थानीय तहको निर्वाचनले देशमा वैधानिक गति लिएको बताउँदै उहाँले भन्नुभयो, “अब प्रदेश र सङ्घीय संसद्को निर्वाचन पनि समयमा नै हुनुपर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्