माचुसिमा टोली जकार्ता जाने



काठमाडौं, (नेस)
एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली माचुसिमा क्योकुसिन कराते टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्ने भएको छ।

मे २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५ केजीमाथि सन्तोष बुढाथोकी तथा ६०–६५ केजीमा सुजन गोलले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। सन्तोषले गत नोभेम्बरमा जापानमा भएको आईकेओ माचुसिमा विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। त्यसबेला सन्तोषले चौथो स्थान हासिल गरेका थिए। सुजनको यो ‘डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

टोली नेताका रूपमा नेपाल माचुसिमा क्योकुसिन कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ राजकुमार गुरुङ पनि टोलीसँगै जकार्ता जाँदै छन्। गुरुङले त्यहाँ हुने बैठक र रेफ्री सेमिनारमा पनि भाग लिने बताइएको छ। प्रतियोगितामा विभिन्न २० राष्ट्रका ८० पुरुष खेलाडीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्ने गुरुङले जानकारी गराए। टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं माचुसिमा संघका वरिष्ठ सल्लाहकार प्रकाशसिंह कार्कीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्