सारापोभाले वाइल्ड कार्ड पाइनन्



लन्डन, (एजेन्सी)
१५ महिना डोपिङ प्रतिबन्ध सकाएर अप्रिलमा कोर्टमा पुनरागमन गरेकी मारिया सारापोभाले फ्रेन्च ओपन गुमाउने भएकी छन्। फ्रेन्च ओपन प्रतियोगिताको अधिकारीहरूले दुई पटकको च्याम्पियनलाई वाइल्डकार्ड दिने मनाही गरे। यो निर्णयले सारापोभाको १५ महिनापछि ग्रान्डस्लाममा खेल्ने सपना चकनाचुर हुने भयो।

मंगलबार राति फ्रेन्च टेनिस महासंघका प्रमुख बर्नाड गिउडिसेली फेरान्डिनीले भने– ‘चोटबाट फर्केकाका लागि मात्रै वाइल्ड कार्ड दिन सकिन्छ। डोपिङबाट फर्केकाका लागि वाइल्ड कार्ड उपलब्ध हुन सक्दैन।’

२८ मे देखि शुरू हुने वर्षको दोस्रो ग्रान्डस्लाममा सहभागी हुन ३० वर्षीया सारापोभाले वाइल्ड कार्डको आशा गरिरहेकी थिइन्। उनलाई सान्त्वना दिँदै फेरान्डिनीले बताए– ‘मारियाका लागि र उनका समर्थकका लागि धेरै–धेरै म क्षमाप्रार्थी छु। उनीहरू ज्यादै निराश हुनेछन्। उनी पनि ज्यादै निराश हुनेछिन्। तर, यो मेरो उत्तरदायित्व र लक्ष्य हो कि प्रतियोगिताको उच्चस्तर बचाउन कुनै शंकास्पद निर्णय लिन हुँदैन।’

विम्बल्डनमा आस
गत वर्षको जनवरीमा अस्ट्रेलियन ओपन क्वार्टरफाइनल खेले यता रसियन खेलाडी सारापोभाले हालै तीन प्रतियोगितामा खेलेर कोर्टमा पुनरागमन गरेकी छिन्। उनले गएको अप्रिलमा स्टुटगार्ट ओपन, यसै मे मा मेड्रिड र इटालियन ओपनमा वाइल्ड कार्ड पाएर खेलेकी थिइन्। उनी हाल विश्व वरियतामा २११औं स्थानमा रहेकीले ग्रान्डस्लाम खेल्ने प्रावधानभन्दा बाहिर छिन्।

हाल जारी इटालियन ओपनको सेमिफाइनलमा पुगेकी भए सारापोभाले विम्बल्डनको सीधै मुख्य ड्रका लागि छनोट हुन पाउने थिइन्। तर, उनले दोस्रो चरणमा चोटको कारण लुचिच बारोनीसँगको खेल परित्याग गरेकी थिइन्। उनले अल इंग्ल्यान्ड क्बलमा वाइल्ड कार्ड पाउने वा नपाउने थाहा पाउनका लागि आगामी जुन २० सम्म कुर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्