पुणे आईपीएलको फाइनलमा



नयाँदिल्ली, (एजेन्सी)
राइजिङ पुणे सुपर जायन्टले इन्डियन प्रिमियर लिगअन्तर्गत १०औं संस्करणको फाइनलमा स्थान बनाएको छ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा पुणेले मुम्बई इन्डियन्सलाई २० रनले हरायो। मुम्बईका लागि २० ओभरमा १ सय ६३ रनको लक्ष्य पाएको थियो। तर, टोली ९ विकेट गुमाएर १ सय ४२ रनमा समेटिएको थियो। जब कि भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनीले आक्रमक ब्याटिङ गर्न अगाडि पुणेमाथि मुम्बईको नियन्त्रण थियो।

त्यसो त आजिन्क्य रहाणे र मनोज तिवारीले पनि राम्रो खेलेका थिए। धोनीले पहिलो १९ बलमा खासै रन बनाउन सकेका थिएनन्। तर, अन्तिम ७ बलमध्ये पाँचलाई बाउन्ड्री माथिबाट छक्का उडाए उनले। उनले २६ बलमा ४० रन जोडेपछि पुणे सम्मानजनक १ सय ६२ स्कोरमा पुगेको थियो।

मुम्बईको ब्याटिङ ध्वस्त बनाएर वासिङटन सुन्दर र शार्दुल ठाकुरले पुणेलाई फाइनलमा पुर्याउन प्रमुख भूमिका खेले। सुन्दरले १६ रन खर्चेर ३ विकेट लिई किफायती बलिङ गरेका थिए। तर, ठाकुरले त्यति नै विकेट लिन ३७ रन दिएका थिए। त्यस्तै कप्तान स्टिभ स्मिथले दुई असम्भव क्याच लिनु पनि पुणेका लागि जित सम्भव भयो।

मुम्बईलाई दोस्रो मौका
मुम्बई इन्डियन्सका लागि पहिलो क्वालिफायर खेल हारे पनि फाइनल पुग्न अर्को मौका बचेको छ। बुधबार हुने दोस्रो क्वालिफायर खेलमा जित्ने टोलीसँग मुम्बईले खेल्नेछ। दोस्रो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्सको सामना सनराइजर्स हैदरावादले गर्नेछ।

पुणेको खराब शुरूआत
टस हारेर ब्याटिङ गरेको पुणेको ९ रनमा दुई विकेट गुमाएपछि शुरूआत ज्यादै खराब भएको थियो। जसमा राहुल त्रिपाठी खाता नखोली आउट भए भने कप्तान स्मिथ दुई रनमै पवेलियन फर्केका थिए। त्यसपछि आजिन्क्य रहाणे र मनोज तिवारीले तेस्रो विकेटका लागि महत्त्वपूर्ण ८० रन जोडे। रहाणे ५६ रन बनाएर आउट भएका थिए। ३ विकेट गुमेपछि क्रिजमा आएका धोनीले मनोजसँग मिलेर १ सय ६२ रनसम्म पुर्याएका थिए। मनोज ५८ रन बनाएर अन्तिम बलमा आउट भए।

मुम्बईको टोलीमा पार्थिव पटेलबाहेक कोही ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। लेन्डल सिमोन्स ६, कप्तान रोहित शर्मा १, अम्बाटी रायडु ०, केइरन पोलार्ड ७ र हार्दिक पाण्डे १४ रनमा आउट भएका थिए। पार्थिवले सबैभन्दा बढी ५२ रन बनाए भने उनी सातौं विकेटको रूपमा आउट भएका थिए। उनको विकेट गुमेपछि मुम्बईले जित्ने बाँकी रहेको आशा पनि समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्