उकालो लाग्यो सुनको भाउ



काठमाडौं, (नेस)
गत साता स्थिर रहेको सुनको भाउ यो साता भने क्रमशः उकालो लाग्न थालेको छ। मंगलबार प्रतितोला ५३ हजार ५ सय रुपियाँमा किनबेच भएको सुनको भाउ २ सय रुपियाँले बढेर बुधबार प्रतितोला ५३ हजार ७ सय रुपियाँमा कारोबार भएको छ।

त्यस्तै चाँदिको मूल्य पनि बुधबार ५ रुपियाँले बढेको छ। बुधबार चाँदि प्रतितोला ७ सय ५० रुपियाँमा कारोबार भएको थियो। मंगलबार पनि सुनचाँदिको मूल्यमा यही दरले वृद्धि भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा वृद्धि हुँदै गएकाले नेपाली बजारमा समेत त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार विकले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी केही बढेको छ जसका कारण सुन महङ्गिएको हो।’ अमेरिकी डलरको मूल्यमा गिरावट आएपछि लगानीकर्ताले सुनमा लगानी बढाउँदा सुनको मूल्य समेत बढेको उहाँको भनाई छ।
अमेरिकी डलर घट्ने कारण
अमेरिकामा बढेको राजनीतिक तनाव तथा अमेरिकाको आन्तरिक तथ्यांक परिसुचकमा वृद्धि नहुँदा अमेरिकामा डलरको भाउ घटेको हो। अमेरिका र रसियाबीच सम्बन्धका कारण भइरहेको विवादले डलरलाई कमजोर बनाएको अर्थविद्हरूको तर्क छ। अर्कोतर्फ युरोप तथा अन्य शक्तिशाली मुलकका तथ्यांक थप शशक्त बन्दै गएका छन्। यसको असर डलर विनिमयम दरमा देखिने विश्लेषकहरू बताउँछन्। त्यस्तै निर्माणकार्यमा आउने मन्दीका कारणले समेत डलरको मूल्य सस्तो हुने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
नेपाल राष्ट्र बैंकले आज विहीवारका लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २ रुपियाँ २५ पैसा र बिक्री मूल्य १ सय २ रुपियाँ ८५ रुपियाँ निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्