“झोले मार्केटिङ कम्पनी मार्केटबाटै हटाइनुपर्छ”

रवि सिंहल
सीईओ
सोसल एभ्स, इन्टरनेट मार्केटिङ कम्पनी

रवि सिंहल नेपालको डिजिटल मार्केटिङका क्षेत्रमा स्थापित र चर्चित नाम हो। ‘सोसल एभ्स’ नामक मार्केटिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिंहल विगत सात वर्षदेखि डिजिटल प्रविधिमार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको वस्तु र सेवाको प्रवद्र्धन गरिरहनुभएको छ। यही सन्दर्भमा नेपालमा डिजिटल मार्केटिङको पछिल्लो अवस्था, चुनौती र सम्भावनाका विषयमा नेपाल समाचारपत्रका लागि उहाँसँग हेमन्त जोशी र दीपेन्द्र थापाले गरेको कुराकानी।

डिजिटल मार्केटिङलाई सरल रूपमा कसरी बुझ्ने ?

कुनैपनि कम्पनीको वस्तु र सेवालाई ईन्टरनेटका माध्यामबाट लाखौँ लाख मान्छेलाई देखाउने सेवा नै डिजिटल मार्केटिङ हो। हामीले कुनै वस्तु र सेवालाई धेरै मानिसमम्म पुर्याउने काम डिजिटल मार्केटिङ हो। छापा माध्याम र प्रसारण माध्यमको पनि निश्चित क्षेत्र छ। इन्टरनेटको माध्यमबाट फेसबुकले मात्र झन्डै ८२ लाख मानिसमा पहँुच पुगेको छ। छरिएर रहेको ठूलो जमातलाई विज्ञापन गर्नुपर्यो भने डिजिटल मिडियाको माध्यमबाट पहुँच पुर्याउन⁄देखाउन सकिन्छ। डिजिडल भिडियोको अर्को सबल पक्ष भनेको उपभोक्ताले तुरुन्तै प्रतिक्रिया दिन सक्छन्। छापा र प्रसारण माध्यमहरूमा हामीले प्रतिक्रिया मूल्यांकन गर्न सक्दैनौं।

यो यही लाखौँ जनमानसमा एकैचोटि सेवा पुर्याउने र छिटो गतिमा प्रतिक्रिया पाउने काम नै डिजिटल मार्केटिङ हो। नेपालमा डिजिटल मार्केटिङले गति लिएको सन् २०१२ बाट हो। हामीले कम्पनी शुरू गरेको २००९ मा हो र डिजिटल मिडियामार्फत् विज्ञापन चाहिँ २०११ मा शुरू भएको हो।

नेपालमा डिजिटल मार्केटिङको प्रवद्र्धन कसरी भइरहेको छ ?

नेपालमा डिजिटल मिडिया भन्नेबित्तिकै ८० प्रतिशतले फेसबुक, ट्वीटर, इन्ट्राग्रामलगायतका सामाजिक सञ्जाल प्रयोग गर्छन्। कम्पनीहरूले पनि आफ्ना सामाजिक सञ्जालका पेजहरू बनाएर विज्ञापन गरिरहेका छन्। तर हुनुपर्ने के हो भने १० प्रतिशत सर्च इन्जिन मार्केटिङ, २० प्रतिशत मोबाइल सर्च इन्जिन मार्केटिङ, १० प्रतिशत इमेल मार्केटिङ, १० प्रतिशत कन्भर्सेसन अप्टिमाइजेसनमा केन्द्रित भएर मार्केटिङ गर्नुपर्नेमा ८० प्रतिशत नै सामाजिक सञ्जालले ओगटेको छ। अहिले मानिसको सोचाइमा पनि पहिलेको भन्दा निकै परिवर्तन भएको छ।

आजभन्दा २ वर्ष अगाडि मैले एउटा क्लाइन्टलाई भेट्दा फेसबुक लाइकको मात्र कुरा गर्ने गरेकोमा अहिले फेसबुकमार्फतका प्रतिक्रिया, लिंक, इमेल, म्यासेजलगायतका विषयमा सोध्ने गरेको भेट्टाएँ। यसरी हामीले के भन्न सकिन्छ भने अबको १⁄२ वर्षमा मान्छे डिजिटल मिडियाका बारेमा निकै बढी जानकार भइसक्नेछन्। शतप्रतिशत मार्केट हुन्छ त भन्न सकिन्छ, तर जसले डिजिटल मिडियामार्फत् आफ्नो वस्तु र सेवाको विज्ञापन गर्छ उनीहरूको सोचाइमा निकै परिवर्तन भइसक्नेछ। जब सबैलाई डिजिटल मिडियाको प्रयोगका बारेमा राम्ररी थाहा भइसक्छ तब मात्रै के कस्तो सेवालाई कस्तो उपभोक्तामाझ पुर्याउने भनेर कम्पनीहरू आफैंले निक्र्यौल गर्न सक्छन्।

हामीकहाँ डिजिटल मिडियामार्फत् कुन वस्तु तथा सेवाको बढी मार्केटिङ भइरहेको पाउनुभएको छ ?

अहिले फुड एन्ड बेभरेज, इलोक्ट्रोनिक्स सामानहरू, मोबाइल, ल्यापटपहरू, लत्ताकपडाका ब्रान्डहरूले बढी मात्रामा डिजिटल मिडिया प्रयोग गरिरहेका छन्। उपभोक्तालाई जानकारीमूलक सूचनाका लागि पनि विभिन्न कम्पनीले डिजिटल मिडिया प्रयोग गरिहरेका छन्। पेप्सी, कोक, युनिलिभरलगायतका ठूला र बहुराष्ट्रिय कम्पनीहरू त सबै डिजिटल मार्केटिङमा प्रवेश गरिसकेका छन्।

अहिले डिजिटल मिडिया र सामाजिक सञ्जालको विज्ञापन गर्ने शैली कत्तिको सही छ ?

सोसल मिडियाको प्रयोग र प्रभावकारिता छुट्टाछुट्टै कम्पनीका लागि छुट्टाछुट्टै हुन सक्छ। जस्तो न्युज अनलाइन साइट चलाउँदा ट्वीटर, युट्युब बढी प्रभावकारी हुन्छ भने कुनै लत्ताकपडाको ब्रान्ड छ भने लोकेसन र स्याम्पल हेर्नका लागि स्नाप च्याट, इन्ट्राग्राम, पिनटेस्टलगायतका एप्लिकेसनहरू बढी प्रभावकारी हुन्छन्। तर हामीकहाँ के पनि चलन छ भने कम्पनीहरूले कुन एप्लिकेसनमार्फत् विज्ञापन गर्ने भनी सोच्दै सोच्दैनन्। कम्पनीको आफ्नै फेसबुक पेज चाहिँ हुनैपर्छ भन्ने सोचाइले ग्रसित छौँ।

नेपाल ब्रान्डहरू सबैभन्दा पहिला फेसबुक र त्यसपछि मात्र अरू साइटमा जान्छन्। तर हाम्रो कम्पनीको त्यस्तो छैन। हाम्रा ६० प्रतिशतभन्दा बढी ग्राहक नेपालबाहिरका छन्। यस कारणले पनि हामीले भिन्नभिन्न तरिकाले मार्केटिङ गरिरहेका छौँ। हामीले के सुझाव दिने गरेका छौँ भने तपाईंको कम्पनीका लागि यो यो प्लाटफर्म ठीक हुन्छ र यस्तो नतिजा पाउनुहुन्छ भनेर शुरूमै भन्ने गरेका छाँै।

मूल्यका हिसाबले नेपालको डिजिटल मार्केटिङ सस्तो छ कि महँगो ?

गहिरो अध्ययन गर्नुभयो भने एकदमै सस्तो छ। पत्रपत्रिका र रेडियो टेलिभिजनका लागि ठूलो रकममा पनि थोरै मानिसमा पहुँच राख्छ। तर डिजिटल मिडियाले थोरै रकममा पनि धेरै मानिससम्म पुग्न सकिन्छ। हामीले चाहेअनुसार कति दिनसम्म विज्ञापन देखाउने भनेर पनि निर्णय गर्न सक्छौं। त्ससमा कसले के के हेर्यो र कस्तो प्रतिक्रिया दियो भन्ने पनि हेर्न सक्छौँ। त्यही भएर तुलनात्मक रूपमा सस्तो छ। सर्वसाधारणले पनि सस्तो छ भन्ने थाहा पाएका तर पनि डिजिटल मार्केटिङमा लगानी गर्न चाहन्नन्। कम्पनीहरूले करोडौँको मार्केटिङ प्लान बनाएका हुन्छन् तर डिजिटल मिडियाका लागि २⁄३ लाख मात्र छुट्याएका हुन्छन्। यस्तो ट्रेन्डलाई सन्तुलित गर्न सक्नु पनि अर्को मार्केटिङ स्ट्राटेजी हो।

केही हदसम्म चेतना नभएर पनि हो। सोसल मिडियाबाट के आउँछ डिजिटल मिडियाबाट के आउँछ भन्ने कुरा क्लाइन्टले बुझ्न सक्नुपर्छ। यहाँ ग्राहक कस्ता छन् भने महिनामा फेसबुकमा १ लाख खर्च गर्यो भने के फाइदा आउँछ भन्ने थाहा नै छैन। ग्राहकले पनि सोध्नुहुन्छ। हामीले जनचेतनाका कार्यक्रम पनि गरिराखेका छाँै। ठाउँठाउँमा डिजिटल मिडियाको ट्रेनिङहरू दिइराखेका छौँ मार्केटस्हरूलाई। हामीजस्तो १० वटा कम्पनी आउनुपर्छ जसले डिजिटल मिडियामा काम गरोस्। मानिसहरूलाई चेतनशील बनाउनलाई। आज आएर किन पत्रपत्रिका चर्चित छन् भने २५औँ वर्षदेखि एजन्सीले काम गरेको छ त्यसको प्रभाव देखा पर्छ र ग्राहकले विश्वास गरेका छन्। हामी झन्डैझन्डै २⁄३ वर्ष भयो नेपाली मार्केटमा आएको समय लाग्छ तर त्यति धेरै समय लाग्दैन। पत्रपत्रिकाभन्दा समय लाग्दैन। किनकि डिजिटल मिडियामा डाटा एकदमै छिटो आउँछ। अबको २⁄३ वर्षमा त्यो विश्वास आउँछ। एजेन्सीले पनि क्लाइन्टलाई बुझाउनुपर्यो। यति खर्च गर्नुभयो भने यति फाइदा हुन्छ भनेर बुझाउन सक्नुपर्यो।

यस क्षेत्रमा काम गर्दै जाँदा कस्ता समस्या र चुनौती देखिएका छन् ?

नेपाल यति सानो देश हो कि इन्टरनेटको सञ्जाल एकदम राम्रो छ। घरमा कम्प्युटर पुगेको हुँदैन मोबाइल पुगिसकेको छ। इन्टरनेट झन् छिटो पुग्यो। भारतको तुलनामा नेपालमा राम्रो छ इन्टरनेटको अवस्था। नेपालमा जेनेरेसन ग्याप देखिएको छ। २० वर्षको उमेर समूहका नेपाली युवाहरू एकदम एक्टिभ छन्। त्योभन्दा माथिको उमेर समूहमा डिजिटल मिडियाको पहुँच पुर्याउनलाई साँच्चीकै कार्यक्रमहरू ल्याउनुपर्छ। तपार्इं ३५ वर्ष र त्योभन्दा माथि उमेर समूहको हुनुहुन्छ र डिजिटल मिडिया सिक्न चाहनुहुन्छ भने ट्रेनिङ क्लासहरू भइराखेको छ सिकेर जान सक्नुहुन्छ। कसरी फेसबुक चलाउने, के कुरा लेख्ने⁄नलेख्ने भनेर निःशुल्क ट्रेनिङ दिन्छौँ। नेपालमा अहिले ३३ प्रतिशत डिजिटल मिडियाको पहुँच छ अबको दुई वर्षमा ६० देखि ७० प्रतिशत पुग्ने हाम्रो अनुमान छ। हामीले सयौँ जनालाई ट्रेनिङ दिएका छौँ। कतिले राम्रै कम्पनी खोलेका छन् तर कतिले झोले कम्पनी खोलेका छन्। झोले मार्केटिङ कम्पनीलाई मार्केटबाटै हटाइनुपर्छ।

नेपालजस्तो विकासशील मुलुकको डिजिटल मार्केटिङको भविष्य कस्तो छ ?

आजको दिनमा नेपाली बजारमा डिजिटल मार्केटिङ उच्च गतिका साथ अघि बढिरहेको छ। अहिले विभिन्न कम्पनीहरूले आफ्नो सेवा र वस्तुको विज्ञापनका लागि २० हजारभन्दा बढी फेसबुक पेजहरू सक्रिय छन्। तर त्यो २० हजारमा २ हजार जति मात्र ब्रान्डका रूपमा स्थापना भएका होलान्। नेपालकै वस्तु र सेवा दिइरहेका र बहुराष्ट्रिय कम्पनीहरू सबैले डिजिटल मिडियामा प्रवेश गर्यो भने मात्रै पनि डेढ लाखदेखि २ लाखभन्दा बढी ब्रान्ड पेजहरू पुग्छन्। तर अहिले ५ प्रतिशत मात्रै डिजिटल मार्केटङमा प्रवेश भएको छ। बाँकी ९५ प्रतिशत कम्पनी र ब्रान्डहरूका लागि डिजिटल मार्केटिङले अहिले सेवा पुर्याउन सकेको छैन। यसको एउटा मुख्य कारण के पनि हुन सक्छ भने डिजिटल मिडिया भनेको धेरै मानिसहरूले बुझेकै छैन। हामी कहाँ मानसिकता के छ भने फेसबुकमा पेज बनाउने र त्यहाँ कम्पनीका बारेमा जानकारी हाल्ने भन्ने मात्र बुझेका छौँ। फेसबुक पेजपनि डिजिटल मार्केटिङको सानो टुल हुन सक्छ। सोसल मिडियाले समग्रमा डिजिटल मार्केटिङको १० प्रतिशत मात्र ओगट्छ। हामीकहाँ इमेल मार्केटिङ, कन्भर्सेसन अप्जिमाइजेसन, सर्च इन्जिन अप्टिमाइजेसन, मोबाइल सर्चइन्जिन, जियो बेस सर्च इन्जिन अप्टिमाइजेसनलगायतका थुप्रै तरिकाले बजार लिन सकेको छैन। यी सबै कुराहरू नेपालको बजारमा विस्तारै प्रवेश गरिरहेको छ। विकसित र युरोप अमेरिकाका मुलुकहरूमा व्यवसायको १ क्वार्टर बराबरको पैसा सामाजिक सञ्जालबाट आउँछ। त्यहाँ बजार निकै ठूलो छ र नेपालमा पनि विस्तारै बढ्ने क्रममा गइरहेको छ। अबको २⁄३ वर्षमा यो एकदमै विस्तार हुनेछ।

नेपालमा डिजिटल मार्केटिङका लागि के–कति रकम लगानी भइरहेको छ ?

तथ्य र वस्तुगत रूपमा कति लगानी भइरहेको छ भनेर अहिलेसम्म अनुसन्धान भएको छैन। नेपालमा हामीले काम गरिरहेको कम्पनीहरूसँग बुझ्दा ग्राहकको मानसिकतामा बढी प्रभाव पारेको भेट्यौँ बिक्रीमा भन्दा पनि। हामीले काम गर्ने बेलामा के पायौँ भने डाइरेक्ट सेलभन्दा पनि मान्छेको सोचाइ र मानसिकतामा बढी प्रभाव पारेको छ।

LEAVE A REPLY