प्राधिकरणले ध्यान देओस्




विनाशकारी भूकम्प गएको २ वर्ष पूरा भइसक्यो। विनाशकारी भूकम्पले क्षति र त्यसपछिको पुनर्निर्माण आशा गरेअनुरुपले हुन सकेको छैन। विनाशकारी भूकम्पले गाँउघरमा जन जीवनसँग सम्बन्धित सबै पक्षहरुलाई नराम्रोसँग प्रभावित गरेको छ।विशेष गरी प्रत्येक घरधुरी तथा जनताहरुसँग प्रत्यक्ष सम्बन्धित रहेको आवास निर्माण कार्य सोचेअनुरुप हुन सकेको छैन। अब बन्ने घरहरु भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्ने कुरामा कही कतै दुई मत छैन। त्यसैले, अब बन्ने घरहरु पहिलाको तुलनामा बलियो बन्ने निश्चत छ। तर स्थानीय स्तरमा पाइने निर्माण सामग्रीहरु ढुङ्गा माटोको प्रयोग गरी भूकम्पप्रतिरोधी घर निर्माण हुने कुरामा स्थानीय जनता अझै विश्वस्त हुन सकिरहेका छैनन्। सिमेन्ट, रड र बालुवाको प्रयोग गरी घर बनाउनका लागि सामथ्र्य छैन। घर तथा आवास पुनर्निर्माण कार्यको विद्यमान अवस्था हेर्दा एक तिहाइ पनि आवास निर्माण नभएको अवस्था छ। यसो हुनुमा पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यविधि, निर्देशिका एंव कार्ययोजना प्रक्रियामा केही कमजोरीहरु हुनु नै हो ।

पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अगाडि नबढ्नुको मुख्य कारण अव्यवहारिक आवास निर्माण कार्यविधि हो। जसले गर्दा भूकम्प प्रभावित जनताहरुमा उत्साह घटिरहेको अवस्था छ। घर निर्माणका लागि व्यवहारिक पक्षलाई भन्दा सैद्धान्तिक तथा कागजी पक्षलाई बढी ध्यान दिइएको छ। प्राधिकरणवाट पुनर्निर्माणका लागि ५ वर्ष तोकेको र २ वर्ष बितिसक्दा पनि अवस्था जहाँको त्यही छ। स्थानीय जनसमुदायमा अन्यौलको अवस्था घट्नुको सट्टा बढिरहेको छ। प्रमुख जिम्मेवार पक्ष राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास पुनर्निर्माणका लागि सही रणनीतिक योजना निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न नसक्नु हो। सरकारले उपलब्ध गराएको रकम घर निर्माणका लागि पर्याप्त छैन।

रकम प्राप्त गर्ने प्रक्रियाहरु जटिल तथा झन्झटिलो छ। सरकारले निर्धारण गरेका १७ डिजाइनहरु सवै प्रभावित स्थान र समुदायहरुको चाहना तथा आवश्यकताअनुरुप छैन। अधिकांश नेपालीहरु कृषि पेशामा अश्रित रहेका छन। उक्त आवासका डिजाइनहरु गाँउका किसानहरुलाई सामान्य गर्जोसमेत टार्न कठिन हुने देखिन्छ। किनभने किसानहरुका लागि धेरथोर उब्जिएको अन्नपात थन्काउन मिल्ने कोठा वा ठाउँ, घर पालुवा जनावर तथा गाई वस्तुहरुका लागि आवश्यक सामग्रीको जोहो गर्ने ठाउँ उल्लेखित डिजाइनमा समावेश गरिएको छैन। र अर्को घर बनाउनका लागि पर्याप्त स्थान तथा स्रोत एवं पूँजी पनि छैन।

प्राधिकरणले तयार गरेको डिजाइनहरुले समुदायको फरक–फरक भौगोलिक मौलिकता एवं विविधतायुक्त साँस्कृतिक पक्षहरुलाई समेट्न सकेको छैन। अर्कोतर्फ विविधतायुक्त समुदायहरुको धर्म, सँस्कृति, रहनसहन, चालचलन, चाडपर्व र साँस्कृतिक पहिचानसगँ सम्बन्धित पक्षहरुसमेत बसोबास गर्ने घरसँग निकटतम सम्बन्ध जोडिएको हुन्छ। त्यसैले उक्त डिजाइनहरुले समूदायका मानिसहरुको आवश्यकता परिपूर्ति गर्न नसकिने अवस्था भएको हुनाले नै घर निर्माण हुन सकेको छैन। प्राधिकरणले आवास निर्माणका लागि खटाएको प्राविधिक टोली पनि अनुभवी देखिएको छैन। साथै समय–समयमा गाउँघरमा गई प्राविधिक ज्ञान तथा व्यवहारिक तालिमहरु दिन सकेका छैनन्। समुदायमा बनेका केही घरहरु पनि स्पष्ट कार्ययोजना तथा अनुभवी प्राविधिकहरु नभएको कारणले गर्दा पास हुन सकेको छैन। प्राविधिकै पिच्छेको फरक–फरक कुराहरुले स्थानीय जनतामा थप अन्यौल उत्पन्न भएको छ।

पहिलो किस्ताबराबरको कार्य सम्पन्न भइसकेका घरहरु दोस्रो किस्ताको रकम लिने प्रक्रियामा समावेश हुन सकेको छैनन्। यस प्रकारका समस्याहरुको पहिचान तथा सम्बोधन गरी प्रभावकारी पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले तत्कालीन नीति तथा कार्यविधिहरुलाई परिमार्जन गरी व्यवहारिक बनाइ पुनर्निर्माणका लागि सहज वातावरण सिर्जना गर्नु अपरिहार्य देखिन्छ। जसका लागि प्राधिकरणद्वारा शुरुआती दिनमा तयार गरिएका डिजाइनहरुमा थप परिमार्जन गरी गाउँँ क्षेत्रमा लैजानुपर्छ। र उक्त बन्ने योजनालाई यथासिघ्र छिटो प्राविधिकहरुमार्फत आवश्यक अभिमुखीकरण एवं तालिमहरुको समेत व्यवस्था गर्नुपर्ने देखिन्छ। साथै ढुङ्गा र माटोको प्रयोग सही तरिकाले गर्न सकिएमा भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न सकिन्छ भन्ने कुरालाई प्राधिकरण तथा प्राविधिकहरुद्वारा स्थानीय जनताहरुलाई विश्वस्त गराइ निर्माण गर्न सकिएमा गाउँ नै गाउँले भरिएको नेपालको पुनर्निर्माण सम्भव छ।

दिपिका आर्याल, सिन्धुपाल्चोक

मदन–आश्रितको अवसान कसरी ?
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस हिजो थियो। एमाले भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्त लिएर अहिले पनि अघि बढिरहेको छ। सन् १९९०को दशकमा सोभियत संघ टुक्रिने अवस्थामा पुग्ने र युरोपमा पनि कम्युनिस्टहरु लखेटिने अवस्थामा पुग्दा पनि नेपालमा भने कम्युनिस्ट शासन पद्धतिलाई माटो सुहाउँदो बहुदलीय जनवादमा रुपान्तरण गरेर जनताको मन जित्नु निकै ठूलो कुरा हो। सशस्त्र संघर्षबाट आएको माओवादी केन्द्र पनि अहिले लगभग भण्डारीकै विचार बहुदलीय जनवादमा प्रवेश गरेको अवस्था रहेको छ। जुन भण्डारीको त्यतिबेलाकै दूरदर्शिताको कुरा हो। तर, एउटा बुझ्न नसकिएको कुरा के हो भने भण्डारी र आश्रितको अवसान हत्या थियो कि मृत्यु भन्ने कुरा अझै नखुल्नु रहस्यको विषय रहेको छ। भण्डारीकै पार्टी पटक—पटक सत्तामा रहँदा पनि किन त्यो घटनाको वास्तविकता सार्वजनिक नगरिएको होला ?

दीपक सापकोटा, बल्खु काठमाडौं

बुद्धि पुगेन कि ?

दलको विकल्प खोजेकाहरुलाई नयाँ दलका रुपमा स्थापित भएका शक्तिले विवेक नपुर्याएको देखियो।

ठूला तथा फरक विचारधारा बोकेका राजनीतिक दल त तालमेलमा चुनाव लडेको अवस्थामा अल्पमत तथा उस्तै चुनावी एजेन्डा लिएर चुनावमा लड्ने साझा पार्टी र विवेकशील नेपाली मिल्न नसक्नुमा उनीहरूको लोभ र हठ हाबी भएको देखिन्छ।

आखिर जनताले नयाँ तथा सक्षम अनुहार चाहेको बेलामा यी दुईमध्ये एक मेयर अनि अर्को उपमेयरमा उठेको भए ठुलै हेरफेर हुने थियो। अन्तिम नतिजा जे पनि हुन सक्ला तर प्रारम्भिक चरण हेर्दै लाग्छ कि उनीहरू दुवै पराजयको संघारमा छन्। ‘मै मेयर बन्छु भनेर जिद्दी गर्नु र ठूला दल झैं बाँडफाँडमा कुरा नमिलाउनुको सजाय यही हो।

तर, हतास हुन जरुरी छैन। जनमुखी कार्यक्रम लिएर जनतामाझ जाने कोही पनि जनताको पराइ हुनै सक्दैन।

मनोज रेग्मी, भिर्कोट नगरपालिका ८, स्याङ्जा (हाल बुढानीलकण्ठ ,काठमाडौं)

प्रतिक्रिया दिनुहोस्