अमेरिकाले रुससँग गोप्य जानकारी साझा गर्नुले कुनै असर पर्दैनः इजरायल



कुनै गोप्य जानकारी दिएको छैनः पुटिन

वासिङटन⁄जेरुसलम, (एजेन्सी)
अमेरिकाले इजरायली गुप्तचर संस्थाबाट प्राप्त जानकारी रुससँग साझा गरेको कारणलाई लिएर इजरायलले अमेरिकासँगको उसको सम्बन्धमा कुनै असर नपर्ने जनाएको छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वासिङ्टनमा रुसी अधिकारीसँग भएको बैठकमा कुनै प्रकारको गोप्य जानकारी आदानप्रदान नभएको बताउँदै त्यसको प्रमाण स्वरूप त्यसको एउटा ट्रान्सक्रिप्ट कंग्रेसलाई उपलब्ध गराउन सक्ने बताएका छन्।

तर एक अमेरिकी रिपब्लिकन राजनीतिज्ञले पुटिनले उपलब्ध गराउने कुनै पनि सामग्रीमा आफ्नो कमै मात्र विश्वास हुने बताए।

अमेरिकाका लागि इजरायली दूत रन डरमरले अमेरिकासँग साझा भएका गोप्य सूचनाको मामिलामा उनको देशलाई अमेरिकामाथि पूर्ण विश्वास रहेको बताए।
मंगलबार अमेरिकी अखबार वासिङ्टन पोस्टले छापेको प्रकाशित समाचारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई गोप्य जासुसी जानकारी साझा गरेको दाबी गरेपछि अमेरिकाको राजनीति तातिएको थियो।

यद्यपि राष्ट्रपति ट्रम्प र अमेरिकाका थुप्रै शीर्ष अधिकारीले उक्त समाचारलाई गलत बताइरहेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोवबीच भएको उक्त बैठकमा त्यस्ता कुनै पनि जानकारी साझा नगरेको दाबी गरेका थिए।

तर मुद्दा झन् चर्किन थालेपछि ट्रम्पले ट्विट गरी इस्लामिक स्टेट समूहविरुद्ध लडाइँ बलियो पार्न रुससँग जानकारी साझा गर्न आफूसँग पूर्ण अधिकार रहेको तर्क अगाडि सारेका थिए। तर यस मुद्दामा बहस जारी रहेको छ र डेमोक्रइटिक तथा कयौं रिपब्लिकन नेताले नै ट्रम्पसँग सफाइ मागिरहेका छन्।

डेमोक्रइट नेता चक सुमरले ह्वाइट हाउस बैठकको सम्पूर्ण विवरण पेस गर्न माग गरेका छन्। उनले भने– ‘सबै डेमोक्रइट नेताहरू राष्ट्रपतिको उक्त बैठकमा भएका वार्तालापको विवरण सिनेटको इन्टेलिजेन्स कमिटीलाई दिनुपर्छ भन्ने पक्षमा छन्।’

उनले भने– ‘कुनै नाइनास्ती नगरीकन राष्ट्रपतिले बिना कुनै संशोधन वार्ताको ट्रान्सक्रिप्ट दिनुपर्छ। केही गरी उनले हाम्रो देशको सुरक्षा र जासुसी अभियानको सुरक्षालाई कुनै प्रकारले खतरामा त पुर्याएको छैन, भन्ने बारेमा कांग्रेसलाई जान्ने अधिकार छ।’

सञ्चार माध्यमहरूको समाचारअनुसार जुन जानकारी रुससँग साझा गरेको भन्ने आरोप छ, त्यो अमेरिकालाई इजरायलबाट प्राप्त भएको थियो र उसलाई उक्त जानकारी साझा गर्ने अधिकार थिएन।

यद्यपि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले बैठकमा गोप्य जानकारीको स्रोत र तरिकाका बारेमा कुनै कुरा साझा नगरेको बताएका थिए।
यो मुद्दामा रिपब्लिकन पार्टीका नेताहरू पनि दुई खेमामा विभाजित देखिएका छन्। रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले यस मुद्दालाई विनाकारण महत्त्व दिइरहेको बताएका छन्।

रुसी सरकारका प्रवक्ता दिमित्री म्याककोनेलले उक्त मामिलामा प्रतिक्रिया दिँदै भने– ‘यस प्रकारको फाल्तु कुरासँग हाम्रो कुनै लिनुदिनुछैन।’

सेन्डर्स अहिल्यै महाअभियोगको विपक्षमा
अमेरिकी सिनेटर बर्नी सेन्डर्स र ओहायो गभर्नर जोन कासिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने समय नआएको बताएका छन्। दुई प्रमुख डेमोक्रइटिक नेताले ट्रम्पको पछिल्ला आरोपित काण्डका विषयमा सीएनएनको एक छलफल कार्यक्रममा उक्त धारणा राखेका हुन्।

एक हप्ताअगाडि मात्रै ट्रम्पले जेम्स कोमीलाई बर्खास्त गरेका थिए। अहिले अपदस्थ ती एफबीआई निर्देशकले राष्ट्रपतिले आफूलाई माइकल फ्लिनको अनुसन्धान रोक्न भनेको एक अखबारलाई बताएका छन्। ट्रम्पले पदभारको शपथ लिनुअगाडी पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनले रुसविरुद्धको नाकाबन्दीका विषयमा रुसी कूटनीतिज्ञसँग छलफल गरेको समाचार बाहिर आएपछि फ्लिनले फेब्रुअरीमा उक्त पदबाट राजीनामा दिएका थिए।

महाअभियोगका लागि पर्याप्त धरातल तयार भएको छैन, भन्ने प्रश्नको जवाफमा कासिकले आफूलाई त्यसतो नलागेको बताएका थिए। सन् २०१६ को चुनावमा रुसको कथित संलग्नताका विषयमा ‘वास्तविकता के हो’ सबै तथ्य पत्तालगाउनु अत्यन्त जरुरी भएको उनले बताएका थिए।

सेन्डर्सले त्यसलाई समर्थन गर्दै अहिले राष्ट्रपतीय चुनावमा ट्रम्पको प्रचार र रुसी संलग्नताको निचोड आउनुपर्ने बताए। त्यो स्थितिमा नपुगेसम्मका लागि महाअभियोगमा हाम्फल्न नहुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्