विक्रमको अन्तिम संस्कार



गत आइतबार हत्या गरिएका संगीतकर्मी तथा कलाकार विक्रम परियारको मंगलबार क्रिश्चियन परम्पराअनुसार राजधानीको वनकालीमा अन्तिम संस्कार गरिएको छ।

उनको शव मंगलबार दमौलीबाट काठमाडौं ल्याई क्रिश्चियन परम्पराअनुसार अन्तिम संस्कार गरिएको थियो। अन्तिम संस्कार गर्नुअघि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा राखिएको थियो। जहाँ उनका शुभचिन्तक, कलाकर्मी, आफन्त, साहित्यकार र राजनीतिज्ञहरुले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसअघि कांग्रेस समर्थक उनको शव श्रद्धाञ्जलीका लागि दमौलीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको थियो। त्यहाँ स्थानीयले उनीप्रति श्रद्धाञ्जल िव्यक्त गरेका थिए।

गत आइतबार स्थानीय तहको निर्वाचनमा भोट हाल्न गृहजिल्ला तनहुँ पुगेका उनको अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको थियो। भोट हालेर फर्किएका कलाकार परियारको अज्ञात समूहले हत्या गरेको थियो। उनीमाथि ब्यास वडा नंम्बर १ मा आक्रमण भएको प्रहरीले जनाएको छ। उनको शव छाला फ्याक्ट्री नजिकै भेटिएको थियो। उनीसँग रहेका देवनारायण श्रेष्ठ गम्भीर घाइते भएका छन्। घटनापछि रत्नहरि अस्पताल लगिएका परियारलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनास्थल नजिकैको खोल्सामा फालिएको अवस्थामा मोटरसाइकल फेला पारेको थियो।

उनी मतदानका लागि शनिबार मात्रै दमौली पुगेका थिए। उनले तनहुँ व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका थिए। हत्या किन र कसले गर्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विभिन्न नाटक तथा फिल्ममा विविध भूमिकामा अभिनय गर्दै आएका कलाकार परियार लामो समयदेखि एक्टर्स स्टुडियोसँग सम्बद्ध थिए। संगीतमा समेत दख्खल राख्ने उनले एक्टर्स स्टुडियोका प्रायः सबै नाटकमा संगीत दिएका थिए। उनी गीत पनि गाउँथे। जस्तोसुकै भूमिकामा पनि सशक्त अभिनय गर्ने क्षमता राख्ने उनले थुप्रै नाटकका साथमा फिटकिरी, ताण्डव, टलजंग भर्सेस टुल्केजस्ता फिल्ममा पनि खेलेका थिए। उनले नायक राजेश हमालका साथमा कोर्टमार्सल नामक नाटकमा अभिनय गरेका थिए। लामो समय शिक्षण सेवा गरेका कलाकार परियार राजधानीमा रहेर गायन, संगीत र अभिनय क्षेत्रमा सक्रिय थिए। उनी आस्कार कलेजमा पनि पढाउँथे। उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्