लोकगायिका थापा वडा अध्यक्षमा निर्वाचित



लमजुङ, (नेस)। लमजुङमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा लोकगायिका पवित्रा थापा मगर वडाध्यक्षमा निर्वाचित भएकी छिन्। विजयी भएसँगै उनले आफ्नो वडामा विशेष बजेटको पबन्ध गरी कला क्षेत्रलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

जिल्ला सदरमुकाम बेंसीशहर नगरपालिका ८ को मतगणनाको बुधबार घोषित परिणामबाट उनी वडाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। नेकपा एमालेको भातृ संगठन अनेमसंघको नगर कमिटीको अध्यक्ष रहेकी उनी लोकगायनको क्षेत्रमा विशेष दखल राख्छिन्। २०४९ सालमा आई ए पढ्ने क्रममा काठमाडौं रहँदा सोही वर्ष रेडियो नेपालबाट स्वर परीक्षा पास गरी हितको परानी बोलको पहिलो गीत रेकर्ड गराएकी थिइन्। उनका थुप्रै गीत रेकर्ड भएका छन्।

उनले लोक गीतका साथै दोहोरी गीतसमेत गाउँदै आएकी छिन्। ०५१ सालमा लायन्स क्लबले आयोजना गरेको राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगितामा पहिलो पुरस्कार प्राप्त गर्न सफल उनका तीजको लहर, मनैमा पिर छ नि एकल एल्बमा तथा पाउँदीको दोभान बोलको गीत विमा दुराका साथ संयुक्त एल्बम बजारमा आएका छन्। पछिल्ला वर्षमा कलाकारिताको क्षेत्रमा समय दिन नसके पनि आफ्नो पहिलो पहिचान कलाले दिएको उनले बताइन्। त्यसैले पनि यो क्षेत्रको उत्थानका लागि आफूले वडा तहको बजेटमा विशेष व्यवस्थासमेत गरेर नवोदित प्रतिभाको विकासमा आफू लाग्ने अठोट उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्