मलेरियाको जोखिम



नेपाल समाचारपत्र, बाँके । बाँकेको होलिया र गंगापुरमा मलेरियाको जोखिम देखिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले औषधी छर्किने तयारी गरेको छ ।

साविकका यी दुवै गाविसमा गतवर्ष मलेरियाका बिरामी देखिएका थिए । विगतमा मलेरियाको महामारी फैलिएको र वर्षेनी बिरामी देखिरहने भएकाले जनस्वास्थ्यले यसपाली पनि औषधी छर्किने तयारी गरेको फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिनुभयो ।

बाँकेमा केस घटेको भएपनि मलेरियाका जोखिम अझै रहेको छ । यी दुई गाउँ पछिल्ला दिनमा उच्च जोखिममा नपरेकाले झुल वितरण गरिएको छैन । उच्च जोखिम नभएपनि जोखिम रहेकाले औषधी छर्किने तयारी गरेको शर्माको भनाई थियो । गएको असार र भदौमा यी दुवै ठाउँमा मलेरियाका बिरामी देखिएका थिए । गर्मी बढेकाले लामखुट्टेको बिगबिगी शुरु भइसकेको छ । बेलैमा औषधी छर्किएमा लामखुट्टेलाई मार्न सकिने अधिकारीहरुको भनाई छ ।

गतवर्ष बैजापुरमा पनि मलेरियाका बिरामी फेला परेका थिए । यी ठाउँमा झुल वितरण गरिसकिएको छ । सरकारले २०२६ सम्ममा नेपालबाट मलेरिया हटाउने घोषणा गरिसकेको छ । लामखुट्टेका कारणले सर्ने यो रोग सीमावर्ती जिल्लाहरु सधैं जोखिममा रहने गर्दछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरियाप्रति सजगता अपनाएको छ । ज्वरोका बिरामीलाई मलेरियाका छ कि छैन भनेर जाँच गर्ने गरिएको छ । ‘ज्वरोको बिरामी आउने बित्तिकै उसलाई मलेरिया जाँच हुन्छ । यदि पोजिटिभ देखिएमा उसको घर वरिपरि पनि निगरानी गर्छौ, शर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्