तेस्रोलिङ्गीमाथि हुने विभेदकारी व्यवहार अन्त्य गर्नुपर्ने



काठमाडौँ, ३ जेठ । समाजमा समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गीमाथि हुने सबै प्रकारका विभेदकारी व्यवहार अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घ र नीलहिरा समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले समलिङ्गी वा तेस्रोलिङ्गी भएकै कारण आफूहरू आफ्नो परिवारबाटै अपहेलित हुनुपरेको गुनासो गर्नुभयो ।

सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले समलिङ्गी वा तेस्रोलिङ्गीमाथि हुने विभेद अन्त्यका लागि भएका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं यस सम्बन्धी व्यापक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले राज्यका हरेक संरचनामा समलिङ्गी वा तेस्रोलिङ्गीको समान सहभागिता हुनुपर्ने र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले तेस्रोलिङ्गीलाई शिक्षामा अग्रसर बनाउन सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्