दस्तखत नभएका मतपत्र फेला



काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिका २ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएको १० वटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ ।

सो विषयमा दलहरुबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो ।

मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नं २ को गणनाका क्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटी भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नं ३ र ४ को गणना गरिएको जानकारी दिनुभयो ।

कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारको प्रतिस्पर्धा छ ।

यसैबीच वडा नं १ मा एमालेको समूह विजयी भएको छ । वडा अध्यक्ष पदमा नेकपा (एमाले) का हर्ष महर्जनले ८०४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हीरालाल महर्जनले ६५९ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यमा एमालेका क्रमशः सुमन पोखरेल, धनबहादुर महर्जन र सुनिता महर्जन निर्वाचित हुनुभएको छ । सो वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्