नेपाली महिला फुटबल टोली तयार



नेपाल समाचारपत्र
काठमाडौं
मलेसियाविरुद्ध हुने दुई मैत्री खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्ने २० खेलाडीको नाम मंगलबार घोषणा गरिएको छ।

टोलीका प्रमुख प्रशिक्षक कुमार थापाले अघिल्ला दुई साता प्रशिक्षणबाट खेलाडी छनोट गरेका हुन्। नेपालले पहिलो खेल कोटा किनाबलुस्थित लिकास स्टेडियममा मे २२ मा खेल्नेछ। प्रशिक्षक थापाले गत डिसेम्बरमा भारतमा आयोजित साफ च्याम्पियनसिपको टोलीबाट एक खेलाडी मात्रै परिवर्तन गरेका छन्। सशस्त्र प्रहरी बलकी खेलाडी सजना रानाको टोलीमा पुनरागमन भएको छ। उनलाई नेपाल आर्मी क्लबकी दीपा अधिकारीको स्थानमा छनोट गरिएको हो।

अन्तिम छनोटमा परेकामध्ये गोलकिपरमा अञ्जली थुम्बा सुब्बा, नमिता कुमारी दली र अञ्जना रानामगर, डिफेन्डरमा कविता धिमाल, अञ्जली वाइबा, मनमाया लिम्बु, पुनमजंग मगर, गीता राना र हीराकुमारी भुजेल रहेका छन्।

यसै गरी मिडफिल्डर सपना लामा, अनीता बस्नेत, रेणुका नगरकोटी, दीपा राई र मञ्जलीकुमारी योञ्जन तथा फरवार्डमा सावित्रा भण्डारी, अञ्जली योञ्जन, सजनाराना मगर, कृष्णा खत्री, शर्मिला थापा, निर्मला विक र सरू लिम्बु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्