१८ वर्षीय भारतीयले बनाए विश्वकै हलुका स्याटलाइट



चेन्नई, (एजेन्सी)
भारतको चेन्नईका १८ वर्षीय रिफत सारुकले ६४ ग्राम तौलको एक कृत्रिम उपग्रह बनाएका छन्। उक्त कृत्रिम भू–उपग्रहलाई आगामी जुनमा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्षको कक्षमा पठाउनेछ।

रिफतले बनाएको उक्त भू–उपग्रह सम्भवतः विश्वको अहिलेसम्मकै सबैभन्दा हलुका स्याटलाइट मानिएको छ। नास र आइडुडलका तर्फबाट प्रायोजित ‘क्युब्स इन स्पेस’मा उक्त स्याटलाइटलाई चयन गरिएको हो। रिफतले आफ्नो उद्देश्य थ्री–डी प्रिन्ट प्रविधिबाट उपलब्ध हुने कार्बन फाइबरको क्षमता देखाउनु रहेको बताए। आफूले बनाएको स्याटलाइट ४ घण्टाको उपकक्ष अभियानमा पठाउने बताए।

कक्षमा रहने क्रममा यो हलुका स्याटलाइट अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणको वातावरणमा १२ मिनेटसम्म रहनेछ। रिफतले भने– ‘हामीले यसलाई करिब शून्यबाट थालेर बनाएका हौं। यसमा एउटा नयाँ तरिकाको अनबोर्ड कम्प्युटर छ र देशमा बनेका आठ सेन्सर लगाएको छ जसले गति, परिक्रमा गति र पृथ्वीको म्याग्नेटोस्फियरको मापन गर्नेछ।’

स्याटलाइटको नाम पूर्व राष्ट्रपति अब्दुल कलामको नाममा ‘कलामस्याट’ राखिएको छ। रिफत तमिलनाडुको एउटा सानो शहरका हुन्। अहिले उनी चेन्नईको एक संस्था स्पेस किड्स इन्डियामा आबद्ध छन्।

रुससँग गोप्य जानकारी साझा गरेको ट्रम्पमाथि आरोप
मैले चाहेको कुनै पनि जानकारी साझा गर्ने अधिकार छः ट्रम्प
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इस्लामिक स्टेट समूहका विषयमा रुससँग गोप्य जासुसी जानकारी साझा गरेको आरोप लागेको छ।

गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको एक बैठकका क्रममा रुसका विदेशमन्त्री सर्गेइ लाभरोव र रुसी राजदूतसँग उक्त जानकारी साझा गरेको अमेरिकी अखबार वासिङ्टन पोस्टले दाबी गरेको हो।

राष्ट्रपति ट्रम्पले साझा गरेको इस्लामिक स्टेट समूहको उक्त जानकारी अमेरिकालाई उसको एक सहयोगीले दिएको र रुससँग साझा गर्न अनुमति नभएको एक पूर्व र अर्को पदासीन अधिकारीलाई उद्धृत गर्दै अखबारले आरोप लगाएको छ।

राष्ट्रपति ट्रम्पले अखबारको उक्त आरोपको जवाफ ट्विटमार्फत दिएका छन्। उनले ट्विटमा आफ्नो राष्ट्रपतीय तथा ‘पूर्ण’ अधिकारले उनले चाहेको कुनै पनि जानकारी साझा गर्न सक्ने उल्लेख गरेका छन्।

त्यसै गरी अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले एउटा विज्ञप्ति जारी गरी राष्ट्रपतिको कुराकानी विशेष प्रकारको खतराका विषयमा चर्चा भएको जनाएको छ। तर उक्त बैठकमा सूत्र वा सैन्य कारबाहीका बारेमा कुनै छलफल नभएको उनले बताए।
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले पनि उक्त समाचार गलत भएको पत्रकारहरूलाई बताए। उनले भने– ‘अमेरिकाका राष्ट्रपति अमेरिकी नागरिकको सुरक्षालाई सबैभन्दा गम्भीरतासँथ लिन्छन्। जुन समाचार आज राति आयो, त्यो पूर्ण रूपमा गलत हो।’ राष्ट्रपति ट्रम्प र रुसी विदेश मन्त्रीले दुवै देशका लागि खतरा भएको विषयमा छलफल गरेका थिए। कुनै प्रकारको जासुसी सूत्र तथा काम गर्ने तरिकाका विषयमा कुनै छलफल गरेको छैन। राष्ट्रपतिले ती सैनिक अभियानका बारेमा कुनै जानकारी दिएको छैन जुन सार्वजनिक छैन।

राष्ट्रपति बन्नुअगाडि पनि रुससँगको सम्बन्धलाई लिएर ट्रम्पविरुद्ध प्रश्न उठेका छन्। उनीमाथि चुनाव प्रचारका क्रममा रुससँग सहयोग लिएको आरोप लागेको छ। यस मामिलामा अमेरिकामा विभिन्न तहमा छानबिन पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्