कुन्दन जोशी
जनरल म्यानेजर, लक्ष्मी स्टिल्स प्रालि

देशमा पुनर्निमाण साथै तथा पुर्वाधार विकास कार्यक्रम अन्तर्गत ठूला परियोजनाका काम तीव्र गतिमा बढिरहेका छन्। अन्य साना निर्माण कार्य पनि उल्लेख्य रुपमा भइरहेका छन्। यसका लागि मुलुकभर वार्षिक १०लाख टन स्टिलको माग रहेको अवस्थामा हाल नेपाली उत्पादनले पाँच लाख टनभन्दा बढी स्टिल उत्पादन गर्दै आएका छन्।

लक्ष्मी स्टिलले यतिको माग रहेको नेपाली बजारको १५ प्रतिशत हिंस्सा ओगट्दै आइरहेको छ। पछिल्लो समय लक्ष्मी स्टिल्स प्रालिले वीरगन्जमा नयाँ फ्याक्ट्रिसमेत सञ्चालनमा ल्याउने भएको छ। कुन्दन जोशी यतिबेला लक्ष्मी स्टिल्स प्रालिका जेनेरल म्यानेजर हुनुहन्छ। २८ वर्षदेखि डण्डी उद्योगका विभिन्न पदमा रही काम गर्नुभएका जोशीसँग नेपाली डण्डी उत्पादनको बजार र चुनौती सम्बन्धमा नेपाल समाचापत्रका राजु श्रेष्ठल े गरेको कुराकानी ।

नेपालमा पछिल्लो दिन डण्डीको बजारमा प्रतिस्पर्धा बढेकै हो त ?
प्रतिस्पर्धा ठिकै छ, तर अब आउने दिनमा भने ज्यादा प्रतिस्पर्धा हुन्छ। किनभने पूर्व र पश्चिम दुबै क्षेत्रमा नयाँ उद्योग स्थापना भएको र हुँदै गएकाले बजारमा प्रतिस्पर्धा छ। त्यसकारण सबै उद्योगले अवस्था सुधार तथा गुणस्तरीय उत्पादन वृद्धि गर्न जरुरी छ।

बजारमा डण्डीको माग कस्तो छ ?
माग त एकदम बढ्दो छ। भूकम्पपछि पुनर्निर्माणका कारण बढेको माग अहिले केही घटेपनि पैसा रिलिज बढ्दै जाँदा यसको माग अझै बढ्छ। तथ्यांकमा हेर्दा अहिलेको माग ५ देखि ८ लाख टनको हाराहारीमा छ। आउने दिनमा १० लाखभन्दा माथि माग हुन्छ। तर हाइड्रोपावर लगायत ठूला निर्माणका लागि डण्डी सोझै विदेशबाट आयात हुन्छ। त्यहाँ प्रायः भारत र टर्कीबाट डण्डी आउने गर्छ। यसमा सरकारले कडाई गनुपर्छ। हामी हाम्रो उत्पादनमा निर्भर हुनुपर्छ। आवश्यक उत्पादन गर्न आफैँ सक्षम छौँ। सबै कुरा सरकारी नीति नियमको भुमरीमा भर पर्छ।

यतिका माग रहेको अस्थामा नेपाली उद्योगको क्षमता कति छ ?
नेपाली उद्योग क्षमतावान छन्, अहिले आन्तरिक उत्पादन क्षमता ५ लाख टन छ। अहिलेको परिवेशमा यहाँको माग आन्तरिक उत्पादनले थेगिराखेको छ तर सरकारको नीतिले गर्दा चैं ठूला निर्माण परियोजनाले सिधै विदेशबाट डण्डी ल्याइरहेका छन्। तर त्यो मागपनि पुर्ति गर्ने हाम्रो क्षमता छ।

हाम्रा उद्योगले नै यहाँको माग धान्ने उत्पादन गरिरहेका छन्। पावर पनि अहिले दिनको १६ घन्टा उपलब्ध छ, यसकारण हामी फुल फेजमा उत्पादन गरिरहेका छौँ।

बजारमा टिएमटी, ५०० डी लगायतका डण्डी उपलब्ध छन्। के यी मापदण्ड हुन् या अरु केही ?
एनएसले राखेअनुसार ५०० डी भनेको एउटा ब्राण्ड मात्रै हो। बाँकी पनि त्यस्तै हुन्। यी कुराहरू कसले कुन क्वालिटीको डण्डी उत्पादन गर्छन् भन्नेमा निर्भर हुन्छन्।

ठुला परियोजनाका लागि नेपाली उत्पादनको मापदण्ड नपुगेको हो कि ?

हैन, नेपाली मापदण्ड अनुसार सक्षम छ। हामीले फलो गर्ने नेपाली एनएस मापदण्ड हो, भारतीय हैन। हामीले त्यही मापदण्ड अनुसार उत्पादन गर्ने हो। यदी त्यसो गरिएन भने सरकारले हामीलाई कारवाही गर्छ, उत्पादन रोक्छ, लाइसेन्स खारेज गर्छ। तर हामीले सोही मापदण्ड अनुसार उत्पादन गरेपनि हाइड्रोलगायतका ठूला परियोजनाका लागि सरकारले विदेशी डण्डी ल्याउन दिइरहेको छ। हामी मारमा परेका हौं।

अन्तर्राष्टिय मापदण्ड केके छन् त ? कतै विदेशी राम्रो भएर त हैन ?

नेपालमा फलो गरिने अन्य अन्तर्राष्ट्रिय मापदण्ड भनेका न्युजिल्याण्ड र भारतीय मापदण्ड हुन। नेपाली छड त्यही मापदण्ड अनुसार छन्। विदेशी छड भित्रिनुमा त सरकारी निकायको कमजोरी हो नि। यसको अवस्था नियन्त्रण गर्ने निकायले हेर्नुपर्याे। उसले विदेशबाट जति आयात भएका छन्, त्यही गुणस्तरका, सोही नियममा बसेर उत्पादन गरेका डण्डी नेपालमा उपलब्ध छन् कि छैनन् हेनुपर्यो नि, मेजरमेन्ट लिनुपर्यो नि।

सरकारले भन्सारमा छुट दिँदा ठूला परियोजनामा नेपाली उत्पादनमा कस्ता असर परेका छन् ?

सरकारको यो नीतिले गर्दा नेपाली उत्पादनकर्ता जहाँको त्यही भए। उताबाट माल आउँदा नेपालमा उत्पादन बढेपनि उत्पानस्थलमै थन्किरहेका छन्। यसमा जानकार निकाय उद्योग वाणिज्य महासंघले पनि प्रेसर दिनुको सट्टा चुपचाप छ।

भारतीय बजारबाट धेरैे डण्डी आउँछन् भनिन्छ। कुन माध्यमबाट आउँछन् त ?
विधिवत भित्रिएका हैनन्, छुट्टै माध्यमबाट आएका हुन्। ती सबै यहाँ उत्पादनको सटेज भएका बेलामा आए किनकी त्यस समयमा हामीसँग पावर थिएन। आठ घण्टाको पावर उपलब्ध भएको समयमा हामीले यहाँको बजार धान्न सकेका थिएनौं।

बजारमा डण्डीको मुल्य बढेको हो ?
हैन, मूल्य बढेको छैन। सिमेन्टको बढेको हो। सिमेन्टको पनि क्लिन्कर नभएर बढेको हो। त्यो पनि क्लिन्कर नभएका उद्योगले धेरै बढाएका हुन्। जोजोसँग क्लिन्कर छ, उनीहरूले त एकदम थोरै मात्र मूल्य बढाएका छन्।

बढ्दो मागका बीचमा नेपाली डण्डी उद्योगका केके चुनौती छन् ?

धेरै चुनौतीमध्ये सरकारको नीति नियम नै पहिलो नम्बरमा आउँछ। त्यस्तै पावर एभाइलिबिलिटी पनि एक किसिमको चुनौति हो। डण्डी आयातमा लगाईने सजिलो नियम र बैंकिङ प्रोसेस पनि एक किसिमले चुनौति बनेका छन्। राष्ट्रबैंकको मौद्रिक नीतिले तरलताको अभाव हुँदा हामीलाई मार पर्छ। व्यापारको वैधानिक प्रक्रिया भनेको बैंक हो, बैंकमा पैसा नै नहुँदा, हामीले कारोवार कसरी गर्ने ?
अब अहिले आएर क्लिन्कर पाइरहेको छैन, नपुग पनि भारतबाट आयात भइरहेको छ।

यी समस्या कसरी हल गर्ने त ?

उद्योग क्षेत्रलाई दिइएको १६ घण्टा पावर पनि प्रर्याप्त छैन। इन्डष्ट्रिज फुल फेजमा चले उत्पादनमा वृद्धि हुन्छ। प्रतिफलमा फाइदा त नेपाललाई नै हुने हो। मिल्छ भने उद्योगलाई २० घण्टा पावर दिइयोस्। धेरै उत्पादन थोरै लागत हो त्यसकारण मूल्य पनि त कम पर्छ नि। अर्कोतर्फ नेपालमा क्लिन्कर उत्पादन गर्ने ५–६ वटा सिमेन्ट कम्पनी मात्र छन्। भएकाले ग्राहकलाइ राम्रै सेवा दिइरहेका छन्।

दश लाख टन उत्पान हुने अवस्थामा स्वदेश मै कच्चा पदार्थ उत्पादन गर्न केही कार्यक्रम तथा अनुसन्धान भएका छन् त ?

अनुसन्धान गर्न त सरकारका खानी विभाग छन्, उनीहरू लाग्नुपर्यो नि। पेट्रोल फलाम खानी भेटिएको सुनिन्छ, तरपनि उत्खनन् भएको छैन।

नीजि क्षेत्रले यसो गर्न सक्ने अवस्था छ त ?

फास्ट ट्रयाक बनाउने जिम्मा त नीजि क्षेत्रलाई दिएन, खानी उत्खनन्को जिम्मा त के देला सरकारले ?

विकासमा राजनीतिको हस्तक्षेप, सरकारी तथा राष्ट्रबैंकको नीति नसुध्रिएसम्म उद्योगधन्दा फस्टाउँदैनन्। उद्योगधन्दा नफस्टाए जनतालाई असर पर्ने हो, यसको सिधै असर राष्ट्रको अर्थतन्त्रमा पर्छ।

अब लक्ष्मी स्टिल्सको कुरा गरौं। तपाईंहरूको उत्पादन क्षमता कति छ ?
हाम्रो उत्पादन क्षमता भनेको मासिक १० देखि ११ हजार मेट्रिक टन हो। हामी बजारको १५ प्रतिशत हिस्सा ओगट्छौं। हामी सक्षम भएर सर्वसुलभ मूल्यमा उच्चस्तरीय उत्पादन जनतासामु लान चाहन्छौं। पहिले हाम्रो बजार पश्चिममा सिमित थियो, अब हामी चारैतिर फैलदै छौँ।
बजारमा कच्चा पदार्थको अवस्था कस्तो छ ?

अहिलेसम्म हामी भारतबाट कच्चा पदार्थ आयात गर्दै आएका छौ। हामी रिसाइक्लिङ पनि गर्छौँ तर त्यो कम क्वालिटीको हुन्छ। कबाड पेलेर बन्ने स्टिलमा कार्बन, म्याग्निज, फस्फोरस कन्टेन्ट कम हुन्छ जसको कारण स्टिलमा हुने विशेष गुण कम हुन जान्छ। युरोपमा यसलाई गिगो स्टिल भनिन्छ। यसको मतलब, जस्तो इन्पुट दियो, उस्तै आउटकम हुन्छ।

यो प्रोसेसिङमा भर पर्छ। स्टिल उत्पादनमा दुई किसिमका फर्नेस प्रयोग गरिन्छ। आर्क फर्नेसबाट बनेको प्राइमरी स्टिल हुन्छ भने ब्लास्ट फर्नेस बाट बनेको सेकेन्डरी स्टिल हुन्छ। ब्लास्ट फर्नेसबाट बनेकोलाई थप ल्याडल रिफाइन गर्नुपर्ने हुन्छ। जसको मूल्य एकदमै महंगो पर्न जान्छ, यो नेपालमा उपलब्ध छैन।
उपभोत्ताको जानकारीका लागि टिएमटि र ग्रेड लेखिएका स्टिलमा के फरक हुन्छ ?

सबै छड टिएमटी नै हुन्। सर्वसुलभ भाषामा भन्दा तताएको फलामलाई खापीले पिटेर कुनै आकारमा ल्याइने गरिन्छ, त्यसपछि कडापना ल्याउन पानीमा हाल्ने गरिन्छ। साधारण रुपमा स्टिल भनेको नै टिएमटी हो, त्यसलाई भट्टीमा तताएर पानीमा हालिन्छ। जस्तै नरिवलको बाहिरी भाग कडा हुन्छ, भित्री गुदी हुन्छ। स्टिलमा त्यो गुदी भनेको डक्टिलिटी हो।

कोही दुविधामा नपरे हुन्छ ५०० ग्रेड भनेकै टिएमटी हो।

डन्डीमा अलि बढी लचकता भएमा बढी भूकम्प प्रतिरोधी हुन्छ भन्छन् नि ?
एकदमै सही। लचकता भनेको स्टिल हल्लिँदा पुनः पुरानो स्थानमा फर्किनु हो। उदाहरणका लागि तराईमा हावाले पोल हल्लाउँदा पोजिसन गेन गर्ने पोलहरूमा डक्टीलिटी हुन्छन्। भुइचालो आउँदा क््रयाक हुनु राम्रो हो किनकि राम्रो डण्डीमा स्ट्रेच ज्यादा हुन्छ त्यसकारण संरचना फेरी पुरानो अवस्थामा फर्किन्छ। त्यसले गर्दा स्टिल बढी भूकम्प प्रतिरोधी हुन्छ।

नेपालमा सबै डण्डी भूकम्प प्रतिरोधी छन् त ?

मैले भन्न सक्दिन किनकी क्वालिटी परीक्षण गर्ने म हैन। अनुगमन गर्ने निकायसँग यसको जवाफ हुनुपर्यो। भूकम्प जोखिम क्षेत्र हो भन्ने जानकारी हुँदाहँदै छडहरू भूकम्प प्रतिरोधी छन् छैनन् भनेर सम्बन्धित निकायले अनुगमन तथा परीक्षण गर्नुपर्यो नि। तर लक्ष्मी स्टिलका सबै उत्पादन क्वालिटी चेक पास गरेर आएका मात्र छन्। यो सबैलाई विश्वस्त गरााउन चाहन्छु।

तपाईँको उत्पादनको बारेमा उपभोक्ता कतिको जानकार छन् त ?

जानकारीका लागि हामीले उपभोक्तालाई बुकलेट उपलब्ध गराउछौँ। हाम्रा इन्जिनियर, ठेकेदारलाई सचेत गराउछौँ, विज्ञापनमा जानकारी गराउछौँ। यसरी हामीले सर्वसाधरणमा जनचेतना फैलाउने कार्यक्रम गरिरहेका छौँ। साथै घर बनाउँदा पिलर निर्माणमा पुर्याउनुपर्ने ध्यानका बारेमा बेलाबेलामा सचेत गराइरहेकै हुन्छौं।

र अन्त्यमा, आम उपभोक्ताले लक्ष्मी स्टिल नै रोज्नुपर्ने कारण केके हुन् त ?

अहिलेको अवस्थामा लक्ष्मी स्टिल्स क्वालिटी फलामे छड उत्पादन गर्ने कम्पनी हो। हाम्रा उत्पादन सर्वशुलभ मुल्यमा माग अनुसार सबै बजारमा उपलब्ध छन्।

LEAVE A REPLY