उता पनि लागिसक्यो चुनाव, जेठ ३१ का लागि मतदाताको टाउको गनिँदै



दयाराम पण्डित, बाजुरा

नयाँ संरचनाअनुसार इतिहाँसमै पहिलोपटक हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बाँकी छ। प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वाचन सम्मन्न भएसँगै बाजुरामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ।

अब दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्कापक्की भएकोले सरगर्मी बढेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं गौमुल गाउँपालिकाका उपाध्यक्ष पदकी सम्भावित उम्मेदवार उमा रोकायाले बताइन्। गाउँमा चुनाव प्रचारप्रसार भइरहेको बेलामा चुनावको मिति सारिएपछि अलि सेलाएको थियो। पहिलो चरणको निर्वाचन सम्मन्न भएपछि पुनः चुनावी सरगर्मी बढेको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं गौमुल गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरि रोकायाले बताउनुभयो।

चुनावको मिति चयन भएको दिनदेखि नै नेता तथा कार्यकताहरुले कसका मतदाता हुन् छुट्याउन जनताका टाउका गन्दै तथ्यांक संकलन गर्न थालेका छन्। परम्परागतरूपमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले मतदाताको टाउका गन्न थालेका हुन् । बाजुराको विकट मानिएको हिमाली गाउँपालिका साविकको रुगिन विच्छ्या र बाँधुमा कुन दलका कति मत छन्? भन्ने पूर्वानुमान भइसकेको छ। यद्यपि निर्वाचनका दिनमा उनीहरुले के गर्छन् त्यो हेर्न बाँकी नै छ।

त्यस्तै, जिल्लाको सदरमुकाम मार्तडी बढिमालिका नगरपालिकामा पनि कुन पार्टीका कति मत भन्ने नजर अन्दाज भइसकेको छ। यो तथ्यांक २०७० को निर्वाचनलाई आधार मानेर विश्लेषण गरिएको राजनीतिक कार्यकर्ताले बताएका छन्। परम्परागतरूपमा हिजो जुन दलमा मतदान गरे अझै पनि त्यही दलमा मतदान गर्ने हुन् भन्ने अनुमान नेताहरुले गरेका छन्। यो घर कांग्रेसको, यो घर एमालेको, यो घर माओवादीको र यो घर राप्रपाको भन्ने उनीहरुको अनुमान छ। यस्तै अन्यको भनेर पनि उनीहरुले अहिले नै छुट्याउन थालेका छन्।
तर, राजनीतिक विश्लेषक भने २०४८ सालको आम निर्वाचनयता भएका विभिन्न निर्वाचन परिणामले जनता कसैका पकडमा नरहेको र स्वतन्त्ररूपमा मतदान गर्दै आएको नतिजाले बताएको विचार व्यक्त गरिरहेका छन्।

यसैबीच नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलले आ–आफ्ना उम्मेदवारको टुंगो एक महिनाअघि नै लगाइसकेका छन् । यद्यपि नेपाली कांग्रेसले भने आफ्ना उम्मेदवारको टुंगो अझै लगाएको छैन। यही जेष्ठ ५ गतेसम्म उम्मेदवारको टुंगो लगाउने कांग्रेस स्रोतले बताएको छ।

दलले टिकट बाँड्दा समृद्ध गाउँ तथा नगरपालिका बनाउने भावि योजना तथा जनाधारको मूल्यांकन नगरी नेताहरुहरुको आ–आफ्नो प्यानलको आधारमा टिकट बाँढे चुनावमा नेताले चाहेजस्तो परिणाम नआउन पनि सक्छ, मतदाताहरुको चेतावनी छ। नेताले कस्तालाई टिकट दिन्छन् ? अहिले मतदाताको चासोको विषय बनेको छ। अनेकौं मतदाताबाट यही प्र्रश्न आउन थालेका छन्।

बाजुरामा ४ वटा नगरपालिका, ५ गाउँपालिका गरी ९ वटा स्थानीय तह छन्। ६४ हजार ९ सय ५० मतदाता छन् भने ३२ हजार ४ सय २७ महिला, ३२ हजार ५ सय २१ पुरुष र २ जना तेस्रोलिंगी छन्। बाजुरामा ९१ बुथ केन्द्रका ६९ मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यलयका कर्मचारी दुर्गा थापाले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्