चाँगुनारायणमा आज मतदान



भक्तपुर, (नेस)
स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिकामा बुधबार पुनः मतदान हुने भएको छ। चाँगुनारायण नगरपालिका ६ स्थित वडा कार्यालयअर्थात् साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको छ।

आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुनः मतदान हुने भएको हो।
नवलपरासी जिल्लाका लागि तयार पारेको मतपत्र चाँगुनारायणमा वितरण गरेपछि नेपाल मजदुर किसान पार्टीले उक्त २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिएपछि मतगणना हुन सकेको छैन।

चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिन्जा डंगोलले बताउनुभयो। पुनः मतदान सकिएपछि यस नगरपालिकाको मतगणना गरिने उहाँले बताउनुभयो। चाँगुनारायण नगरपालिका ६ (साविक नगरकोट गाविस) मतदान केन्द्र ‘ख’ मा कुल ८ सय ७ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्