मतगणनामा ढिलाई, को के भन्छन् ?



स्थानीय निकायको निर्वाचन भएको दुई दिन बितिसक्यो। तर, मतगणना कछुवाको गतिमा रहेको छ। यो अवस्थाको सार्वजनिकरूपमा नकारात्मक टिका–टिप्पणी पनि भइरहेको छ। सम्बद्ध निकायहरुलाई यस्तो अवस्था आउँछ भन्ने पूर्वानुमान भए पनि किन यसरी हेलचेक्रइइँ गर्ने काम गरिएको होला ? अहिले यो प्रश्न जनस्तरबाट उठिरहेको छ। कसले जित्ला भन्ने उत्साह जनतामा भए पनि गणनामा ढिलाई भएका कारण त्यो उत्साहमै ठेस लाग्ने काम भइरहेको छ।

पहिलो चरणमा निर्वाचन भएका ३४ जिल्लाका स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगले छिटोभन्दा छिटो मतगणना गर्न कर्मचारीलाई आग्रह गरे पनि पूर्णतः कार्यान्वयन हुनसकेको छैन।

मतगणनामा भइरहेको ढिलाई बारे के भन्छन् त उम्मेदवारहरू ? नेपाल समाचारपत्रका लागि प्रशान्त वलीले उहाँहरुसँग गरेको कुराकानीः


जसरी हुन्छ चाँडो गणना गरियोस् भनेको छु”

राजुराज जोशी
नेपाली कांग्रेस
काठमाडौं महानगरपालिका
मेयरका उम्मेदवार

“जसरी हुन्छ चाँडो गणना
गरियोस् भनेको छु”
निर्वाचन लगत्तै चाँडै नै मत परिणाम आउँछ भन्ने सोचेका थियौं। तर, सोचेअनुसारको प्रतिफल पाइएन। मतगणना जस्तो महत्त्वपूर्ण विषयमा निर्वाचन आयोगले निकै ढिलाई गरेको छ। यहि तरिकाले गणना हुने हो भने अझै १०⁄१५ दिन लाग्ने देखिन्छ। अहिले म घरमै बसिरहेको छु। पटक–पटक कर्मचारी र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई समेत जे गरेर हुन्छ चाँडै मतगणना हुनुपर्यो भनेको छु।

के गर्ने भनेर हुँदो रहेनछ। आयोगले कर्मचारी छैन भनेर टारिराखेको छ। अहिलेसम्म दुई वटा वडाको मात्रै मत गणना भयो भन्ने कुरा प्रतिनिधिमार्फत् जानकारी पाएको छु। फेरि, फोन गरेर चाँडोभन्दा चाँडो मत गणना गर्न आग्रह गर्नेछु। मतदाताले मतदान गरेपछि कतिबेला नतिजा आउला भनेर व्यग्ररूपमा प्रतीक्षा गरिरहेका छन्।
“आयोग अलि संवेदनशील भइदिनुपर्छ”

विद्यासुन्दर शाक्य
नेकपा एमाले
काठमाडौं महानगरपालिका
मेयरका उम्मेदवार
मतगणनामा ढिलाई भएको विषय सबै दलहरुले स्वीकार गरिसकेका छन्। सोचेको भन्दा ढिलाई भएको छ। यसो नहुनुपर्दथ्यो। हामीले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराएका छौं। हाम्रो पार्टीका केन्द्रीय नेताहरुले समेत मतगणना ढिलाई हुनुको कारणका विषयमा आयोगसँग बुझिराख्नुभएको छ। मतगणनास्थल बढाउँछौं भनेर आश्वासनसमेत पाएका छौं।

अब भने अलिक चाँडै गणना हुन्छ कि भन्ने आशा गरेका छौं। निर्वाचन आयोगले आवश्यक तयारी गरिराखेको होला। धेरै ढिलो भएको छ। आफूले दिएको मतको परिणाम सुन्न मतदाता निकै उत्साहित भएका छन्। यस विषयमा आयोग अलिक बढी संवेदनशील भइदिनुपर्छ। नत्र भने त मतगणना हुन हप्तौं लाग्ने देखिन्छ। आगामी चुनावमा आयोगले अलि बढी ख्याल गर्नुपर्छ। साथै ढिलो हुनुको कारणको समीक्षा पनि गर्नुपर्छ।

पहिल्यै ध्यान दिनुपर्दथ्यो”

किशोर थापा
साझा पार्टी
काठमाडौं महानगरपालिका
मेयरका उम्मेदवार
यो संसद्को चुनाव जस्तो होइन। स्थानीय निकायको चुनाव भएकाले पनि समय लाग्नु स्वभाविक हो। निर्वाचन आयोगले मतपत्रलाई कसरी सरलिकृत तवरबाट छिटोभन्दा छिटो गणना गर्ने भन्ने सोच पहिल्यै राख्नुपर्ने हो। निर्वाचन आयोगको प्राविधिक त्रुटीले ढिलो भएकाले थप जनशक्ति परिचालन गरी गणना गर्ने काम छिटो सक्नुपर्छ। यही तवरबाट जाने हो भने त अझै १०⁄१२ दिन लाग्ने देखिन्छ।

मतपत्रमा भोट हाल्ने संख्या पनि धेरै छ। मतपत्र लामो छ र एउटै मतपत्रमा सात पदको मत गणना गर्नुपर्ने हुँदा मतगणना गर्न बढी समय लागेको हुन सक्छ। सबै दलका प्रतिनिधि राखेर मत गणना भएको छ। प्रत्येक मतपत्रमा सबै प्रतिनिधिलाई देखाएर मात्रै गणना गरिने र झुक्किँदा फेरि शुरुबाट गन्नुपर्ने व्यवस्था छ। अनि किन समय नलाग्नु ? तर, आगामी संसदीय तथा स्थानीय निकायको चुनावमा प्राविधिक कुरालाई सच्याएर अघि बढ्नुपर्छ।

“गणक थपेर चाँडो गर्नुपर्यो”

रञ्जु दर्शना
विवेकशील नेपाली दल
काठमाडौं महानगरपालिका
मेयरका उम्मेदवार
हामी मत परिणाम सुन्न आतुर छौं। काठमाडौं भित्रैको वडा नम्बर १ को मतगणना हुन त २४ घण्टा लाग्यो भने सबै वडाको मत गन्न कति लाग्ला अनुमान गर्नै सकिन्न। सबैभन्दा कमजोरी प्रक्रिया नमिलेरै हो। म अहिले एउटा कार्यक्रममा छु। प्रतिनिधिलाई सोध्दा अझै कति बेला मतगणना सकिने हो भन्नै सकिन्न भन्नुहुन्छ। मतपत्र गणना ढिलाई हुनु सरकारको लज्जास्पद कार्य हो।

कति धेरै मत त बदरसमेत भएको छ। कसरी बदर भोट घटाउने भनेर सम्बन्धित निकायले निर्वाचनपूर्व नै ध्यान दिनुपर्दथ्यो तर भएन। निर्वाचनसम्बन्धी विज्ञको टोली बनाएर राजनीतिक दलको समन्वयमा चाँडोभन्दा चाँडो मतगणना गरिनुपर्छ। लाखभन्दा बढी मत खसेको महानगरपालिकामा जुन गतिमा मतगणना भइरहेको छ, निर्वाचन आयोगले मतगणनाका लागि वैकल्पिक उपाय अवलम्बन नगर्ने हो भने गणना एक सातामा पनि टुंगिने देखिँदैन। कम गतिमा गणना भएको छ। धेरै जनसंख्या रहेका ठाउँमा गणक कर्मचारी थप गरेर भए पनि गणनालाई तीव्रता दिन आयोगले कुनै हालतमा कञ्जुस्याइँ गर्न मिल्दैन।
“अन्योलमा परियो”

दिनेश महर्जन (दीपेश)
नेकपा माओवादी केन्द्र
ललितपुर महानगरपालिका
मेयरका उम्मेदवार

खोई किन यति ढिलो मतगणना भइरहेको छ हामी नै अन्योलमा छौं। मतगणनास्थलमा कर्मचारीहरूले हाम्रा प्रतिनिधिलाई ठीक ढंगको व्यवहार नगरेको पाइयो। कर्मचारीमैत्री व्यवहार नहुँदा प्रतिनिधिहरूलाई अप्ठेरो महसुस भएको बुझेको छु। नतिजा चाँडै आउने गरी काम शुरु गर्नुपर्ने थियो। मतपत्र नै झन्झटिलो र एकदमै ठूलो छ। मतपत्रको कारणले नै मतपरिणाम पनि ढिला गरी आइरहेको होजस्तो लागेको छ। निर्वाचन आयोगले कर्मचारी परिचालन वैज्ञानिक ढंगले नगर्दा पनि मतपरिणाम निकै ढिलो गरी आइरहेको छ। यस विषयमा आयोग जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ। मत गणनामा किन चरम लापरबाही भएको छ, आयोगलाई मेरो प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्