दक्षिण ललितपुरमा कांग्रेस एमालेको प्यानलै प्यानल विजयी



सुरेश तामाङ, ललितपुर ।
ललितपुरको दक्षिण भेगमा रहेको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । महाँकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, बाग्मती गाउँपालिका र गोदावरी नगरपालिकामा सो पार्टीको प्यानल विजयी भएको हो ।

यो समाचार तयार गर्दासम्म महाँकाल गाउँपालिकाको ६ वटा वडाको मतपत्र गणना गर्न सकेको छ । प्रमुख र उपप्रमुख एमाले प्यानल सहित चार वडामा एमालेको प्यानलले जितेको छ भने नेपाली कांग्रेसले १ वटा वडामा प्यानलनै जितेको छ । वडा १ बुखेलमा भने वडा अध्यक्ष र महिला सदस्यमा नेकपा माओवादी केन्द्रका बाहेक सबैमा एमालेले जितेको छ ।
महाँकाल गाउँपालिकाको वडा २ मानिखेलमा, वडा ३ गोटिखेल, वडा ४ कालेश्वरमा र वडा ६ ठूलादुर्लुङमा नेकपा एमालेको प्यानल विजयी भएको हो । मानिखेलमा सन्च लामा, गोटिखेलमा गंगाराम तिमल्सिना, कालेश्वरमा शान्ता गौतम र ठूलादुर्लुङमा रामकृष्ण आचार्यको प्यानल वडा अध्यक्षमा विजयी भएको हो ।

महाँकालमै वडा ५ चन्दनपुरमा मात्रै नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने बाग्मती गाउँपालिकामा वडा १ र २ को मत गणना सकेको छ । त्यहाँ भएको मत परिणाम अनुसार २ वडामै नेपाली कांग्रेसको प्यानलले जितेको छ ।

बाग्मती गाउँपालिकाको वडा १ घुसेल र वडा २ माल्टामा कांग्रेसकै प्यानल विजय भएको छ । घुसेलमा जगतबहादुर लो र माल्टामा विजयकुमार लोको प्यानल विजयी भएको हो । बाँकी ५ वटा वडाको भने मत गणना कार्य जारी छ ।

कोन्ज्योसोम गाउँपालिकाको सबै वडाको मत गणना कार्य सकेर मत परिणाम आईसकेको छ । यहाँको प्रमुख र उपप्रमुख दुबै नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । प्रमुखमा गोपीलाल सिंतान र उपप्रमुखमा निङमा लामा विजयी हुनुभएको हो ।

जसमा वडा ३ दलचोकी र वडा ४ नल्लुमा नेपाली कांग्रेसको प्यानलले जितेको छ । वडा १ चौघरे र ५ भारदेउमा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । भने वडा २ शंखुमा भने वडा अध्यक्षमा मात्रै नेकपा माओवादी केन्द्रले जितेको छ ।
त्यस्तै गरी गोदावरी नगरपालिकामा वडा १ देखि ८ सम्मको मत गणना कार्य सकेको छ । २ र ३ वडामा एमालेको प्यानल जितेको छ । भने वडा ४ बडिखेलमा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्यहाँ वडा अध्यक्ष मुकुन्द पहरी सहितको प्यानल विजयी भएको हो ।

त्यस्तै गोदावरी नगरपालिका १ गोदामचौर, ५ लेले र ७ देविचौरमा नेपाली कांग्रेसको नै प्यानल विजयी घोषणा भएको छ । वडा ८ फर्सिडोलमा भने स्वतन्त्र उम्मेदवार सुकराम लामा वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्